धनगढी । बडादसैँ सुरु भएसँगै बैतडीका प्रसिद्ध शक्तिपीठ तथा धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ । घटस्थापनादेखि नै जिल्लाका विभिन्न मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लाग्न थालेपछि यहाँको धार्मिक वातावरण थप उल्लासमय बनेको छ । बैतडीको दशरथ चन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्लाशैनी भगवती मन्दिर, वडा नं ५ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर तथा सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ मन्दिरलगायतका धार्मिक स्थलमा बिहानैदेखि भक्तजन पुग्ने गरेका छन् । यी मन्दिरमा पूजाआराधना गर्न जिल्लाका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् । बडादसैँको नवरात्र अवधिमा भक्तजनले व्रत बस्ने, एक छाक खाने, पूजापाठ गर्ने तथा देवीदेवताको आराधना गर्ने परम्परा रहेको स्थानीय बासिन्दाले बताएका छन् । आस्था अनुसार मन्दिरमा पूजा गर्ने, नयाँ अन्न चढाउने, नेजा तथा ध्वजा चढाउने र अखण्ड दीप प्रज्वलन गर्नेलगायतका धार्मिक गतिविधि हुने गरेका छन् ।
सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ मन्दिरमा भने नवरात्र अवधिभर पशुबलि नदिई पूजाआराधना गर्ने परम्परा रहेको मन्दिरका भण्डारे महेशराज भट्टले बताए ।
निङ्लासैनी भगवती मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ, हवन तथा बलिसहित पूजा हुने गरेको छ । निङ्लाशैनी मन्दिरका मुख्य पुजारी देवदत्त भट्टका अनुसार घटस्थापनादेखि मन्दिरमा नियमित पूजाआराधना र हवन सुरु भएको छ । नवरात्रको सुरुवातसँगै जमरा राख्ने धार्मिक विधि पनि सम्पन्न गरिन्छ । उहाँका अनुसार बर्खायाममा बन्द रहने बलि दिने परम्परा पनि घटस्थापनादेखि सुरु हुन्छ । घटस्थापनादेखि सप्तमीसम्म बोकाको बलि दिने परम्परा छ । अष्टमीका दिन भने राँगाको बलि दिइन्छ ।
नवरात्रदेखि विजयादशमीसम्म जिल्लाका प्रसिद्ध मन्दिरमा हजारौँ भक्तजनले पूजापाठ गर्ने गरेका स्थानीय गोपाल बोहोराले बताए ।


