धनगढी: चैतन्य स्पोर्ट्स एकेडेमीको आयोजनामा धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित फुटसल मैदानमा ‘चैतन्य अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले खेलकुदले आपसी भाइचारा, सद्भाव र सहकार्य बढाउने बताइन्। उनले चैतन्य पाठशालाले शिक्षा, खेलकुद तथा सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिमा उपमहानगरपालिकाको साथ रहने बताइन्।
चैतन्य पाठशालाका बोर्ड अफ डाइरेक्टर कटकबहादुर सिंहले शिक्षासँगै खेलकुदलाई जोडेर दक्ष खेलाडी, कलाकार तथा विभिन्न क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्नु पाठशालाको मुख्य उद्देश्य रहेको बताए। उनले विद्यार्थीलाई कक्षाकोठाको पढाइमा मात्र सीमित नराखी खेलकुद र अन्य सिर्जनात्मक गतिविधिमा समेत अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्टले चैतन्य पाठशालाले विगतदेखि नै शिक्षासँगै खेलकुद र सामाजिक सेवाका गतिविधिलाई अघि बढाउँदै आएको भन्दै प्रशंसा गरे। उनले समाजसँग जोडिएर गरिने यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्याउने उल्लेख गर्दै आयोजकलाई आगामी दिनका लागि शुभकामना दिए।
चैतन्य पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, पत्रकार तथा सुरक्षाकर्मीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा २० टोली सहभागी भएका छन् भने कुल २१ खेल हुने आयोजकले जनाएको छ। असोज २४ र २५ गते सञ्चालन हुने प्रतियोगिताको उद्देश्य शिक्षकबीच आपसी सद्भाव, सहकार्य र खेलभावना अभिवृद्धि गर्नु रहेको आयोजकले जानकारी दिएको छ।


