कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले युवा विद्यार्थीले विदेश मोह त्यागेर स्वदेशमै अवसर खोज्नुपर्ने बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा मधेसी आयोगले आयोजना गरेको लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले स्वदेशमै बसेर पनि राम्रो अवसर प्राप्त गर्न सकिने बताएका हुन् ।
पछिल्लो समय युवा विद्यार्थीमा विदेश जाने मोह बढ्दै गएको उल्लेख गर्दै उनले दक्ष जनशक्ति पलायन हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताए । विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गरी अध्ययन, ज्ञान र सीप विकासमा ध्यान दिन आग्रह गर्दै उनले निरन्तर मेहनत र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिनुपर्नेमा जोड दिए । मधेसी समुदायको सशक्तीकरणका लागि स्थापना भएको मधेसी आयोगले मधेसमा मात्र नभई सुदूरपश्चिमलगायत अन्य क्षेत्रका विद्यार्थीलाई समेत समेटेर कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा करिब २०० विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका, सरकारी सेवामा प्रवेशका अवसर तथा सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको थियो िमधेसी आयोगका सदस्य रेणु देवी शाहको सभापतित्व तथा प्रदेश प्रमुख मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट र घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
उद्घाटन सत्रपछि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भट्टले नीतिगत तथा योजनागत विषयमा जानकारी दिएका थिए । घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मीले लोकसेवा आयोगको परिचय, परीक्षाको तयारी गर्ने तरिका र सरकारी सेवामा प्रवेश गर्नुको महत्त्वबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना तथा लोकसेवा तयारीसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।
आयोगका सदस्य शाहले लोकसेवा परीक्षासम्बन्धी जानकारी र तयारीका अवसर सबै क्षेत्रका विद्यार्थीले पाउनुपर्ने बताइन् । यस्ता कार्यक्रमले विद्यार्थीमा लोकसेवाप्रतिको जागरुकता बढाउनुका साथै सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
नगरप्रमुख रावतले घोडाघोडीमा कार्यक्रम आयोजना गरेकोमा मधेसी आयोगलाई धन्यवाद दिँदै यस्ता अभिमुखीकरणले विद्यार्थीलाई लोकसेवा तयारीबारे जानकारी दिनुका साथै लक्ष्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्ने बताए । उनले योजनाबद्ध अध्ययन र निरन्तर अभ्यासमा जोड दिनुपर्ने उल्लेख गरे ।


