धनगढी–अत्तरिया छलेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–५ र वडा नम्बर १ मा दुर्घटना न्यूनीकरण तथा लेन अनुशासन कायम गर्ने उद्देश्यले भित्ते चित्र तथा रेडियम स्टिकरसहितका होर्डिङ बोर्डहरू राखिएका छन्।
सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सौजन्य तथा गोदावरी नगरपालिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक कार्यालय कैलालीको सहकार्यमा सडकखण्डका विभिन्न स्थानमा बोर्डहरू स्थापना गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले धेरै चालकहरूलाई अझै पनि लेन अनुशासनबारे पर्याप्त जानकारी नभएको बताउँदै यस्ता सचेतनामूलक बोर्डले लेन अनुशासन पालना गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सडकमा राखिएका संकेत तथा नियमअनुसार सवारी सञ्चालन गर्न सके दुर्घटनामा समेत कमी ल्याउन सकिने बताउनुभयो।
दुर्घटना न्यूनीकरणका लागि विभिन्न क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्दै आएका चालक अमर बिष्टले धेरै चालकलाई लेन अनुशासनबारे जानकारी नै नभएको र जानकारी हुँदाहुँदै पनि कतिपयले लेन मिच्ने गरेको बताउनुभयो। उहाँका अनुसार यी बोर्डहरू राख्नका लागि आफू विगत दुई महिनादेखि निरन्तर रूपमा खटिएर विभिन्न संघसंस्थासँग आर्थिक सहयोगका लागि आग्रह गर्दै आउनुभएको थियो। तर, अपेक्षित रूपमा धेरै संस्थाहरूले चासो नदिएको उहाँको गुनासो थियो।
बिष्टले कैलालीमा विभिन्न कल्याणकारी कोष तथा मजदुरका लागि खोलिएका संस्थाहरूले दुर्घटना भइसकेपछि लाखौँ रुपैयाँ खर्च गर्न तयार हुने भए पनि दुर्घटना हुनै नदिन सञ्चालन गरिने यस्ता अभियानमा भने आर्थिक सहयोगका लागि पर्याप्त चासो नदिएको गुनासो गर्नुभयो।
साथै उहाँले अभियानमा सहयोग गर्ने संस्थाहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। सुन्दर सुदूरपश्चिम यातायात प्रालि, नवजीवन अस्पताल प्रालि र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बोर्ड निर्माण तथा स्थापना गर्न सहयोग गरेको भन्दै उहाँले नामै लिएर धन्यवाद दिनुभयो।
त्यस्तै, अभियानमा सहजीकरण तथा सहयोग गर्ने गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट, वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, विपद् व्यवस्थापन शाखाका सुपरभाइजर प्रमलसिंह महरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको सम्पूर्ण टोली तथा जिल्ला ट्राफिक कार्यालय कैलालीको टोलीलाई समेत उहाँले एकमुष्ट धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका सचिव रामदत्त भट्टको समेत उपस्थिति रहेको थियो।


