धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष (हेल्पडेक्स) स्थापना गरेको छ। बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईको प्रमुख आतिथ्यतामा यात्रु सहायता कक्ष विधिवत् रूपमा स्थापना गरी सञ्चालनमा ल्याइएको हो।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका विभिन्न यातायात प्रालिका प्रतिनिधि तथा व्यवसायी, पत्रकार, यात्रु, चालक र सहचालकहरूको उपस्थिति रहेको थियो।
यात्रु सहायता कक्ष सञ्चालनमा आएपछि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका समस्या, गुनासा तथा असहजता तत्काल सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यात्रु तथा यातायात व्यवसायीबीच समन्वय कायम गर्दै सुरक्षित र व्यवस्थित यातायात सेवा प्रवाहमा समेत सहायता पुग्ने प्रहरीले जनाएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आवतजावत गर्ने यात्रुको प्रमुख केन्द्रका रूपमा रहेको अत्तरिया बसपार्कमा सहायता कक्ष स्थापना भएपछि यात्रुले आवश्यक सूचना तथा सहयोग सहज रूपमा प्राप्त गर्न सक्नेछन्।


