धनगढी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनले देशभर पुस्तान्तरण, संगठन सुदृढीकरण र नेतृत्वमा नयाँपनको बहसलाई अगाडि सारेको छ । ‘बदल्छौं, देश बदलिन्छ कांग्रेस’ भन्ने नाराले नयाँ पुस्तालाई आकर्षित गर्ने सन्देश दिए पनि कैलाली क्षेत्र नम्बर ५ को अधिवेशनपछि यही नाराको व्यवहारिक अर्थमाथि प्रश्न उठ्न थालेको छ ।
धनगढीमा नेतृत्वका विभिन्न तहमा नयाँ पुस्ताका आकांक्षीहरू उम्मेदवार बने । सामाजिक क्षेत्रदेखि पार्टी संगठनसम्म सक्रिय रहेका युवा अनुहारहरूले नेतृत्वमा दाबी गरे । तर चर्चामा रहेका केही उम्मेदवारको पराजयले कांग्रेस भित्र पुस्तान्तरणको नाराभन्दा संगठनभित्र कायम पुरानै शक्ति समीकरण बलियो रहेको देखाएको पराजित उम्मेदवारहरूको बुझाइ छ ।
कैलाली क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापति पदमा पराजित केशव राज जोशीले अधिवेशनको परिणामलाई केवल व्यक्तिगत हारका रूपमा नभई कांग्रेसभित्रको पुरानो राजनीतिक संस्कार र नेतृत्वको कार्यशैलीसँग जोडेर हेरेका छन् ।
जोशीका अनुसार पुरानो नेतृत्वबाट सबैलाई मिलाएर अघि बढ्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने अपेक्षा रहे पनि अन्ततः अधिवेशनको परिणाममा पुरानै प्रवृत्ति दोहोरिएको महसुस भएको छ । पुरानो नेतृत्वले गुटबन्दी नगरी सबैलाई समेटेर अघि बढ्ने विश्वास युवापंक्तिमा रहे पनि त्यो व्यवहारमा देखिन नसक्नु दुःखद भएको उनको भनाइ छ ।
उनको टिप्पणीमा कांग्रेसभित्रको पुस्तान्तरणको बहस र व्यवहारबीच देखिएको अन्तर स्पष्ट देखिन्छ । अधिवेशनअघि नयाँ अनुहार र नयाँ पुस्तालाई अवसर दिने सन्देश प्रवाह भए पनि निर्वाचनको अन्तिम परिणामले भने संगठनभित्र लामो समयदेखि प्रभाव राख्दै आएका राजनीतिक सम्बन्ध, समीकरण र संरचनाको भूमिका अझै बलियो रहेको संकेत गरेको जोशीको बुझाइ छ । त्यस्तै प्रदेशसभा ‘क’ सभापतिका उम्मेदवार निरज विष्टले अधिवेशनको परिणामलाई नयाँ पुस्ताका लागि निराशाजनक संकेतका रूपमा लिएका छन् । समाजका विभिन्न क्षेत्रमा सक्रिय युवाहरू नेतृत्वमा आउन खोज्दा पराजित हुनुको कारणमाथि गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ ।
नगर सभापतिका उम्मेदवार मोहनराज ओझाको प्रश्न पनि संगठनको यही संरचनातर्फ केन्द्रित छ । धनगढीमा कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि योगदान गरेका र तल्लो तहदेखि पार्टीलाई बलियो बनाउन सक्रिय युवाहरू नेतृत्वको प्रतिस्पर्धामा किन स्थापित हुन सकेनन् भन्ने विषय अब छलफलको केन्द्रमा आउनुपर्ने उनी बताउँछन् ।
क्षेत्रीय सचिवका उम्मेदवार महेश गोलेले कैलाली–५ को परिणामलाई ‘अनुहार २.०, परिणाम पुरानै’ भनेर व्याख्या गरेका छन् । उनका अनुसार नयाँ पुस्ताका उम्मेदवारहरू अगाडि आए पनि निर्णायक अवस्थामा पुरानै संगठनात्मक प्रभाव र नेतृत्वबीचको समीकरण हाबी भएको देखियो ।
युवा नेताहरूले उठाएको अर्को प्रश्न अझ गम्भीर छ—यदि नेतृत्व परिवर्तनको कुरा केवल चुनावी नारासम्म सीमित हुन्छ भने ‘रूपान्तरित कांग्रेस’ भन्नुको अर्थ के हो ?
क्षेत्रीय सभापतिका उम्मेदवार केशव जोशी, प्रदेश सभापतिका प्रदेशसभा ‘क’ उम्मेदवार निरज विष्ट ‘ख’ का उम्मेदवार कलेन्द्र शाही तथा अन्य उम्मेदवार मोहनराज ओझा, महेश गोले, केशव जोशी, कुम्भ गिरी, लक्ष्मीनारायण चौधरी, रुपेश स्वर, रविन्द्र प्रताप सिंह, राजेन्द्रप्रताप बम, राजेन्द्र स्नेही, विनय चोखाल, निता चौधरी, विनोद देउवा, कृत विष्ट लगायत थुप्रै पदमा नयाँ पुस्ताका उम्मेदवारहरूको उपस्थितिले अधिवेशनमा पुस्तान्तरणको संकेत भने दिएको थियो । तर सबैको परिणाम नयाँ नेतृत्वको पक्षमा नआएपछि कांग्रेसभित्र पुरानो नेतृत्वको प्रभाव, व्यक्तिगत समीकरण र संगठनात्मक पहुँचको भूमिकामाथि बहस सुरु भएको छ ।
३५ वर्षमुनिका युवाको तर्फबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका राजेन्द्र बमले सामाजिक सञ्जालमा लेखेको टिप्पणीले पनि अधिवेशनपछिको राजनीतिक मनोविज्ञानलाई संकेत गर्छ । उनले राजनीतिमा स्थायी मित्र वा शत्रु नहुने र परिस्थिति तथा स्वार्थअनुसार राजनीतिक सम्बन्ध बदलिन सक्ने भन्दै व्यंग्य गरेका छन् ।
कैलाली–५ को अधिवेशनले कांग्रेसभित्रको एउटा पुरानो चुनौतीलाई फेरि सतहमा ल्याएको छ—युवालाई चुनावमा उम्मेदवार बनाउनु र युवालाई निर्णय गर्ने ठाउँमा स्थापित गर्नु एउटै कुरा होइन ।
त्यसैले अब प्रश्न केवल को जित्यो र को हार्यो भन्नेमा सीमित छैन । प्रश्न कांग्रेसले आफ्नो संगठनात्मक संस्कार र नेतृत्व चयनको अभ्यासमा साँच्चिकै परिवर्तन गर्न खोजेको हो कि परिवर्तनको नारालाई अधिवेशनसम्म मात्र सीमित राखेको हो भन्ने हो ।
धनगढीको अधिवेशनको परिणामलाई युवा नेतृत्वका लागि एउटा राजनीतिक संकेतका रूपमा हेरिएको छ । कांग्रेसले उठाएको ‘बदल्छौं’ भन्ने नाराको वास्तविक परीक्षा भने अधिवेशन सकिएपछि सुरु हुने देखिन्छ—नयाँ पुस्तालाई नेतृत्वमा स्थान दिने कि पुरानै शक्ति संरचनाभित्र नयाँ अनुहारलाई मात्र प्रतिस्पर्धाको अवसर दिने ?

