धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले कञ्चनपुरका विभिन्न इलाका प्रहरी कार्यालय तथा सीमानाकाको अनुगमन गएका छन् । सोमबार एसएसपी विष्टले इलाका प्रहरी कार्यालय बेलौरी, बेलडाँडी र त्रिभुवनबस्तीको अनुगमन गरी कार्यरत प्रहरी अधिकृत तथा जवानलाई आवश्यक निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा उनले नेपालीहरूको महान् चाड विजयादशमी तथा दीपावलीलाई लक्षित गर्दै सीमानाकाबाट हुन सक्ने भन्सार छली, लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणमा थप कडाइ गर्न निर्देशन दिए । साथै, जुवातास नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
एसएसपी विष्टले प्रहरी आचरण तथा व्यावसायिक मर्यादाअनुसार जिम्मेवारी निर्वाह गर्न, नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिन तथा प्रहरी सेवामा अल्पसंख्यक र सीमान्तकृत वर्गको सहज पहुँच सुनिश्चित गर्ने वातावरण प्रदान गर्न सहज गराउनुपर्ने उनको भनाइ थियो । त्यसैगरी, स्थानीय तह तथा आम नागरिकसँग प्रभावकारी समन्वय गरी शान्ति सुरक्षालाई थप मजबुत र भरपर्दो बनाउन प्रहरी कर्मचारीलाई उनले मार्गदर्शन गराएका छन् ।

