धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै एकताको वातावरण बनाउन अझै सम्भावना रहेको बताएका छन्। उनले १६ गते हुने महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता शेरबहादुर देउवालाई गराउन सके पार्टीलाई एक ठाउँमा ल्याउन सकिने धारणा राखेका हुन्।
डोटीमा आयोजित पत्रकार सम्मेलनमा देउवा निकट नेता बलायरले उद्घाटन सत्रको अध्यक्षता देउवालाई गराएर त्यसपछि उनलाई बिदाइ गर्न आफूहरू तयार रहेको बताए। उनले सभापति गगन थापासँग पार्टी एकताका लागि यस्तो प्रस्ताव अघि सार्न सकिने उल्लेख गरे।
‘अझै पनि गगन थापाले १६ गतेको उद्घाटन सत्रको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरे हुन्छ। हामी तयार छौँ,’ बलायरले भने। बलायरले विगतमा देउवाले गगन थापाको हस्ताक्षरबाट टिकट लिएर निर्वाचन लड्न चाहँदा पनि टिकट नपाएको प्रसंगसमेत उठाए। पार्टीभित्र व्यक्तिगत इगोभन्दा राजनीतिक सहमति र संस्थागत एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले विशेष अधिवेशनको वैधानिकतामाथि आफूहरूको प्रश्न रहेको बताए। विधानलाई स्वीकार गर्दै देउवाको अध्यक्षतामा महाधिवेशन उद्घाटन भए विवाद समाधानको बाटो खुल्ने उनको तर्क थियो।
‘विधानलाई स्वीकार गरेर शेरबहादुर देउवाको अध्यक्षतामा महाधिवेशनको उद्घाटन भयो भने त सर्वसम्मतिबाट स्वीकार्य भइहाल्यो नि,’ उनले भने, ‘त्यसो भएपछि यो मान्छे, ऊ मान्छे भन्ने कुरै छैन।’
यद्यपि, जिल्लाजिल्लामा एकतर्फी रूपमा महाधिवेशन प्रतिनिधि चयन भइसकेकाले सहमतिको सम्भावना कमजोर बन्दै गएको बलायरले बताए। पार्टी एकता कायम गर्ने हो भने दुवै पक्षबाट चयन भएका महाधिवेशन प्रतिनिधिलाई एउटै प्रक्रियामा समेटेर महाधिवेशनको मिति सार्न सकिने उनको सुझाव थियो।
बलायरले पार्टी सभापति गगन थापालाई केही व्यक्तिहरूले सहमतिमा आउन नदिने गरी प्रभाव पारिरहेको आरोपसमेत लगाए। उनले त्यस्ता व्यक्तिको प्रभावबाट मुक्त भएर पार्टीको समग्र हितमा निर्णय लिनुपर्ने धारणा राखे।
उनको भनाइमा अहिलेको मुख्य चुनौती नेतृत्वबीचको व्यक्तिगत वा समूहगत दूरीभन्दा पार्टीलाई संस्थागत रूपमा एकताबद्ध राख्नु हो। उनले विवाद कायमै रहेमा कांग्रेसभित्रको विभाजन अझ गहिरिन सक्ने संकेत गर्दै सहमतिका लागि अझै समय बाँकी रहेको बताएका छन्।

