धनगढी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै कैलालीमा शेरबहादुर देउवा पक्षले संगठनात्मक तयारी तीव्र बनाएको जनाएको छ। देउवा पक्षले सोमबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै वडा तहदेखि क्षेत्र र जिल्ला तहसम्म अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले कैलालीका विभिन्न तहमा अधिवेशन सम्पन्न गर्न जिम्मेवारी बाँडफाँट गरी संयोजकहरू खटाइसकिएको बताए। उनका अनुसार क्षेत्रीय तथा जिल्ला तहमा निर्वाचनका लागि जिम्मेवारी तोकिएको छ भने वडा, गाउँपालिका र नगरपालिका तहमा समेत आवश्यक जिम्मेवारी बाँडफाँट गरिएको छ।
वडले आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी भइरहेको जानकारी दिँदै त्यसपछि क्रमशः गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गरिने बताए। उनले पार्टीको विधान र निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाएर १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताए।
पत्रकार सम्मेलनमा वडले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई नै १५औँ महाधिवेशन सम्पन्न गर्ने अधिकार रहेको दाबी गरे। पार्टीभित्र विभिन्न समूह र नेताहरूको राजनीतिक गतिविधिलाई लिएर कांग्रेसको आधिकारिकतामाथि प्रश्न उठाउन नहुने उनको भनाइ थियो।

