धनगढी: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विश्वविद्यालय परिसरलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।
रोटरी क्लब अफ धनगढी, रोट्रयाक्ट क्लब अफ धनगढी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एनअन्तर्गत एरिया नम्बर ५ लगायतका संस्थाको सहकार्यमा विश्वविद्यालय परिसरमा वृक्षारोपण गरिएको हो। चिकित्सा शिक्षा अध्ययन भएपछि विश्वविद्यालय परिसरमा आउने विद्यार्थी, बिरामी तथा सर्वसाधारणलाई स्वच्छ वातावरण र शीतलता प्रदान गर्ने उद्देश्यले विभिन्न प्रजातिका वनस्पति तथा फूलका बिरुवा रोपिएको आयोजकले जनाएको छ।
अभियानअन्तर्गत विश्वविद्यालय परिसर वरिपरि विभिन्न प्रजातिका ५ सय ११ वटा वनस्पति तथा फूलका बिरुवा रोपिएका छन्।

