राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमाहरूलाई सम्बोधन गरेका छन् । आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो । तिम्रो गर्भमा नायकले बास गरेको हो । आफ्नो गर्भलाई धन्यवाद भन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । स्याबास आमा १ धन्यवाद आमा १ जसले शहीद जन्माउनुभयो । प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,’ उनले भने ।
सांसद सुनारले आन्दोलनका क्रममा घाइते युवाले खुट्टा टेक्न र संसार देख्न नसकेका पनि देशले परिवर्तन पाएको बताए । ‘तिमीले खुट्टा टेक्न पाएनौ साथी, त्यस कारण यो देशले खुट्टा टेक्न पायो । तिमीले आँखा देख्न पाएनौ गोली खाएर, त्यस कारण यो देशले संसार देख्न पायो,’ उनले भने ।
उनले पार्टी नेतृत्वको सरकारले आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्ने बताए । शहीद परिवार, घाइते तथा पीडितको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता पनि सांसद सुनारको छ । ‘यो सरकारले माग सम्बोधन गर्छ । यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ । प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ,’ उनले भने ।
पूर्व वा वर्तमान जुनसुकै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भए सरकारले कठालो समातेर कारबाही गर्ने सांसद सुनारको भनाइ छ । ‘जसले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालोमा समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ । एकरएक गरेर हिसाब हुनेछ । खनखनी गनेर हिसाब हुनेछ,’ उनले भने ।

