धनगढी । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कैलालीका सरकारी कार्यालयले मर्मतसम्भारपछि सेवा प्रवाह नियमित गरे पनि अधिकांश भौतिक संरचना भने अझै पूर्ववत् अवस्थामा फर्किन सकेका छैनन्।
आन्दोलनका क्रममा कैलालीमा १३७ वटा भवनमा आगजनी तथा तोडफोड भएको थियो। तीमध्ये १०३ सरकारी कार्यालयका भवन, १७ राजनीतिक दलका कार्यालय, १२ निजी भवन र पाँच प्रहरी कार्यालय थिए। क्षतिग्रस्तमध्ये ११ सरकारी भवन प्रयोग गर्न नमिल्ने भन्दै रातो स्टिकर लगाइएको थियो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मर्मतसम्भार तथा पुनर्निर्माणपछि अहिले कुनै पनि सरकारी कार्यालयको सेवा संरचनाकै कारण प्रभावित भएको छैन। कतिपय कार्यालयले अस्थायी वा मर्मत गरिएको संरचनाबाट सेवा दिइरहेका छन्।
आन्दोलनकै क्रममा कैलाली कारागारबाट फरार भएका ६६५ कैदीबन्दीमध्ये हालसम्म ४६३ जना कारागार फर्किएका छन्। १९ भारतीय नागरिकसहित अझै २०२ जना फरार रहेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिनुभयो। कारागार प्रशासन कार्यालयको मर्मत गरिएको छ भने सुरक्षाका लागि बाहिरी पर्खाल निर्माण गरिएको छ। कैदी राख्ने नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ।
यता, कञ्चनपुरमा पनि आन्दोलनका क्रममा २५ सरकारी कार्यालय, १२ नेताका घर, पाँच पार्टी कार्यालय तथा व्यापारिक केन्द्रमा क्षति पुगेको थियो। कञ्चनपुर कारागारबाट बाहिरिएका साढे तीन सय कैदीबन्दीमध्ये अझै ८५ जना फरार रहेको कारागार प्रशासनले जनाएको छ।
शुक्लाफाँटा नगरपालिकाको मुख्य कार्यालयसहित १२ वटै वडा कार्यालयमा समेत आगजनी तथा तोडफोड भएको थियो। सरसफाइ र मर्मतसम्भारमा मात्रै ६६ लाख रुपियाँ खर्च भएको नगरपालिकाले जनाएको छ।
कैलालीका गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकामा समेत ठूलो क्षति पुगेको थियो। प्रदेश सरकारबाट पुनर्निर्माणका लागि बजेट नआएपछि स्थानीय तहले आन्तरिक स्रोतबाट संरचना पुनर्निर्माण गरेका छन्।
घोडाघोडी नगरपालिकाले करिब नौ करोड रुपियाँ बराबरको क्षति भएको जनाएको छ। गोदावरीमा करिब नौ करोड र गौरीगङ्गामा सात करोड रुपियाँ बराबरको क्षति भएको पालिकाहरूको दाबी छ। आवश्यक सामग्री विभिन्न दातृ निकायबाट सहयोग लिएर तथा भवन पुनर्निर्माण आफ्नै स्रोतबाट गरी सेवा सञ्चालनमा ल्याइएको स्थानीय तहले जनाएका छन्।
आन्दोलनमा निजी व्यवसायसमेत प्रभावित भएका थिए। धनगढीका होटल तथा क्यासिनोमा भएको तोडफोड र लुटपाटपछि व्यवसाय अझै पूर्ण रूपमा पुरानै अवस्थामा फर्किन नसकेको व्यवसायीहरूको भनाइ छ। प्रहरीले आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको जनाएको छ।

