धनगढी: सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन सातामै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति संघर्ष सतहमा आएको छ । मुख्यमन्त्री खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने गरी असन्तुष्ट सांसदहरूले बहुमत जुटाउने कसरत थालेका छन् ।
मुख्यमन्त्री भट्टविरुद्ध असन्तुष्ट सांसदहरूले छलफल तीव्र बनाएका छन् । दलको नेता परिवर्तनका लागि आवश्यक संख्यामा सांसदको समर्थन जुटाउने र हस्ताक्षर संकलन गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
सरकार गठन प्रक्रियादेखि नै असन्तुष्ट रहेका सांसदहरू पछिल्लो समय छुट्टाछुट्टै बैठक तथा छलफलमा जुटिरहेका छन् । विशेषगरी साविक माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एक समूहका सांसदहरू मुख्यमन्त्री भट्टको विकल्प खोज्ने अभियानमा सक्रिय रहेको स्रोतको भनाइ छ ।
सोमबार दिनभर पनि असन्तुष्टपक्षका सांसदहरूले आवश्यक संख्या पुर्याउने विषयमा छलफल गरेका थिए । उनीहरूले दलको नेता परिवर्तनका लागि आवश्यक सांसदको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा सभामुख र एक जना निलम्बित सांसदबाहेक नेकपाका २० सांसद छन् । दलको नेता परिवर्तन गर्न बहुमतका लागि ११ सांसदको समर्थन आवश्यक पर्छ । असन्तुष्टपक्षले साविक नेकपाबाट कम्तीमा पाँच, नाउपाबाट पाँच तथा साविक एकीकृत समाजवादीका थप सांसदको समर्थन जुट्ने दाबी गरिरहेको छ ।
मुख्यमन्त्रीविरुद्धको असन्तुष्टिको एउटा कारण मन्त्री छनोट प्रक्रियालाई समेत बनाइएको छ । नेकपाबाट मन्त्री बन्न सांसदहरूबीच तीव्र प्रतिस्पर्धा चलेको थियो । तर, मन्त्री छनोटमा पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै केही सांसद असन्तुष्ट छन् । नेकपा सांसद अक्कलबहादुर रावलले मंगलबार बिहान सार्वजनिक गरेको भिडियो सन्देशले पनि पार्टीभित्रको यही असन्तुष्टिलाई संकेत गरेको छ ।
उनले प्रदेश सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमलाई ‘मेड इन सुदूरपश्चिम’ को संज्ञा दिँदै केन्द्रको हस्तक्षेपप्रति असन्तुष्टि जनाएका छन् । ‘काठमाडौंको छाता प्रयोग गरेर मेड इन सुदूरपश्चिम हुँदैन । काठमाडौंको सामान फाल्ने हो,’ उनले भनेका छन्, ‘अब हामी पनि मेड इन सुदूरपश्चिम अभियानमा छौँ ।’
२९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सरकार अहिले पनि बजेट शून्यताको अवस्थामा छ ।

