धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान करिब ९ः ३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको विद्युतीय हाइसले बाटो काट्ने क्रममा पैदलयात्री लम्कीचुहा नगरपालिका–८ की १५ वर्षीया स्वस्तिका न्यौपानेलाई ठक्कर दिएको थियो।
हाइसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी न्यौपानेलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोबाट फर्काएर टिकापुर अस्पताल लगिएकोमा बिहान ११ः ०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। उनको शव टिकापुर अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। अवरोधका कारण करिब २५–३० वटा सवारी साधन जाममा परेका थिए दुर्घटनामा संलग्न हाइसलाई इलाका प्रहरी कार्यालय लम्कीमा ल्याइएको छ भने चालक कैलालीको गोदावरी नगरपालिका–५ का ३० वर्षीय प्रताप चौधरी प्रहरी नियन्त्रणमा छन्।
राजमार्गमा भएको अवरोध हटाउन इलाका प्रहरी कार्यालय लम्की, सुख्खड, चिसापानी र बहुनियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनास्थल तथा राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमील्सिनाले जानकारी दिए ।

