काठमाण्डौँ: प्रतिनिधिसभा बैठककै क्रममा एकाएक ढलेका नेपाली कांग्रेसका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।
सांसद खड्का ढलेपछि सभामुख अर्यालले सदनको कारबाही केही बेर रोकेका थिए ।
उनी ढलेसँगै संसद सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । उनका अनुसार खड्कालाई उच्च रक्तचाप देखिएको छ । ‘बिहान परीक्षण गर्दा सामान्य नै थियो । अहिले प्राथमिक उपचारपछि रक्तचाप उच्च भएर अस्पताल लगिएको हो । उहाँसँगै माननीय शाहजान खातुन पनि अस्पताल जानुभएको छ,’ थापाले भनिन् ।
सांसद खड्का संसदमा ढल्दा कांग्रेस सांसद चन्दमोहन यादव सबैभन्दा पहिला दौडिएर पुगेका थिए । सांसद यादवका अनुसार संसद बैठकमा लडेकी भए पनि सांसद खड्काको स्वास्थ्य सामान्यजस्तै थियो ।

