धनगढी — रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशले २ लाख १ हजार १ सय ११ सहयोग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशको कार्यसमिति परिवार तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा संकलन गरेको उक्त राहत रकम नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पठाइएको हो।
कुल संकलित रकममध्ये प्रदेश महासंघका अध्यक्ष श्री पुष्पराज कुँवरले व्यक्तिगत रूपमा रु। १ लाख ४ हजार ६ सय ९१ सहयोग प्रदान गर्नुभएको छ। बाँकी रकम प्रदेश महासंघका कार्यसमिति सदस्य तथा कर्मचारीहरूले व्यक्तिगत रूपमा योगदान गरी संकलन गरेका हुन्।
रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको खबर सार्वजनिक भएलगत्तै नेपाल उद्योग वाणिज्य महासंघ–सुदूरपश्चिम प्रदेशले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशभित्र रहेका सम्पूर्ण निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा जिल्लारनगर उद्योग वाणिज्य संघहरूलाई बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्न आह्वान गरेको थियो।
महासंघको उक्त आह्वानपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले समेत आफ्नो तर्फबाट राहत रकम संकलन गरी सरकारलाई उपलब्ध गराउँदै आएका छन्। महासंघले विपद्को यस घडीमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न सम्पूर्ण उद्योगी–व्यवसायी तथा निजी क्षेत्रलाई निरन्तर आह्वान गर्दै आएको जनाएको छ।
महासंघले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको दुःखमा निजी क्षेत्र एकजुट भएर सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

