धनगढीः नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघका पदाधिकारी तथा कार्यसमितिको बुधबार बसेको बैठकले विपद्को कठिन परिस्थितिमा पीडितको साथमा उभिनु साझा मानवीय दायित्व भएको निष्कर्ष निकाल्दै सरकारी राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको तत्काल उद्धार, उपचार र राहतका लागि सम्बन्धित सबै पक्षलाई अपिल गरेको छ। संघले बाढीबाट प्रभावित सुदूरपश्चिमका नागरिक तथा ज्यान गुमाएका परिवारलाई प्राथमिकतामा राखेर राहत सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ। सरकारी निकाय तथा प्रशासनबाट आधिकारिक र वास्तविक तथ्यांक प्राप्त भएपछि बाढीका कारण सहारा गुमाएका विपन्न परिवार पहिचान गरी राहत उपलब्ध गराउने संघले जनाएको छ।
विपद्को विषम परिस्थितिमा तीनै तहका सरकार, सुरक्षा निकाय, व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजलाई खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न संघले आग्रह गरेको छ। संघले विपद्को समयमा सबै क्षेत्रको सहकार्य र मानवीय सहयोगबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

