धनगढी । कैलालीको धनगढीस्थित केजी हस्पिटल प्रालिले बाढी तथा पहिरो प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो ७ दिनको सम्पूर्ण आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ।
अस्पतालले २०८३ भदौ ११ गतेदेखि १७ गतेसम्म स्वास्थ्य सेवा प्रदान गरेबापत प्राप्त हुने सम्पूर्ण रकम सरकारी राहत कोषमा जम्मा गर्ने जनाएको हो।
देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार सेवाग्राहीले उपचार तथा स्वास्थ्य सेवा लिएबापत तिरेको रकम बाढी प्रभावितको उद्धार तथा राहतमा उपयोग हुनेछ।
केजी हस्पिटलले यसअघि पनि विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। कोरोना महामारीको दोस्रो लहरका क्रममा साविककै दरमा संक्रमितको उपचार गर्नुका साथै अक्सिजन सप्लिमेन्टेसनसमेत सहुलियत दरमा उपलब्ध गराएको अस्पतालको दाबी छ।
अस्पताल प्रशासनले राहत रकम पारदर्शी रूपमा सरकारी कोषमार्फत प्रभावितसम्म पुर्याउनुपर्नेमा जोड दिँदै अन्य निजी क्षेत्र तथा नागरिकलाई समेत विपद्मा सहयोगका लागि अघि बढ्न आग्रह गरेको छ।
अस्पतालले इच्छुक व्यक्ति तथा संस्थालाई व्यक्तिगत वा असुरक्षित खातामा रकम नपठाई आधिकारिक सरकारी राहत कोष तथा मान्य माध्यमबाट सहयोग गर्नसमेत अनुरोध गरेको छ।

