धनगढी । मदिरा व्यवसायी संघ कैलालीको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। संघको अधिवेशन आगामी भदौ १४ गते आइतबार धनगढीस्थित ओम प्यालेसमा हुने भएको हो। संघका अध्यक्ष प्रेमबहादुर धामीका अनुसार अधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा कमल बम र सागर समशेर राणा नेतृत्वका दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्। दुवै प्यानलले आफ्ना चुनावी एजेण्डा र कार्ययोजना सार्वजनिक गर्दै व्यवसायीको हकहित, संस्थागत सुधार र पारदर्शितालाई प्राथमिकतामा राखेका छन्। अध्यक्षका उम्मेदवार कमल बम नेतृत्वको प्यानलले ‘व्यवसायीको समस्या बुझ्ने मात्र होइन, समाधानका लागि अगाडि बढ्ने नेतृत्व’ र ‘प्रतिबद्धता होइन, परिणाम देखाउने नेतृत्व’ भन्ने नारासहित चुनावी अभियान अघि बढाएको छ।
बम प्यानलले मूल्यमा एकरूपता कायम गर्ने, कर तथा कानुनी सहायता डेस्क स्थापना गर्ने, डिजिटल मूल्यसूची र डिजिटल सदस्यता प्रणाली सञ्चालन गर्ने, सदस्य तथा परिवारका लागि सुविधा कार्ड उपलब्ध गराउने, बैंक तथा बीमा संस्थासँग सहकार्य गर्ने र व्यवसायीलाई डिजिटल बजारसँग जोड्ने योजना अघि सारेको छ। प्यानलले संघमा आबद्ध प्रत्येक सदस्य व्यवसायीलाई निःशुल्क वेबसाइट उपलब्ध गराउने, सदस्यका छोराछोरीका लागि शैक्षिक तथा प्रतिभा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, व्यवसायीको क्षमता विकासका लागि नियमित तालिम तथा अन्तरक्रिया गर्ने र व्यवसायीका समस्या सुन्न ‘व्यवसायी संवाद’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
त्यस्तै सदस्य दुर्घटना बीमालाई थप प्रभावकारी बनाउने, व्यवसाय तथा स्टकको बीमामा सहुलियतका लागि पहल गर्ने, बैंकिङ तथा बीमा सेवामा सहजीकरण गर्ने र संघका आर्थिक तथा संस्थागत गतिविधिलाई पारदर्शी बनाउने प्रतिबद्धता बम प्यानलले जनाएको छ।
अर्का अध्यक्षका उम्मेदवार सागर समशेर राणा नेतृत्वको प्यानलले भने विधान र विधिको पूर्ण पालना, आर्थिक पारदर्शिता, व्यवसायीका समस्या समाधानका लागि नियमित कार्यक्रम, नेतृत्व र व्यवसायीबीचको दूरी अन्त्य तथा व्यवसायीको सहभागितामा नेतृत्वलाई मुख्य एजेण्डा बनाएको छ। राणा प्यानलले संघको आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने, आय–व्ययको नियमित विवरण व्यवसायीसमक्ष प्रस्तुत गर्ने तथा संघको स्रोत व्यवसायीको हितमा प्रयोग हुने सुनिश्चित गर्ने जनाएको छ।
त्यस्तै व्यवसायीका साझा समस्या पहिचान गरी सम्बन्धित सरकारी निकाय, कम्पनी, सप्लायर तथा अन्य सरोकारवालासँग प्रभावकारी समन्वय गर्ने र समस्या समाधान नभएसम्म निरन्तर पहल गर्ने प्रतिबद्धता प्यानलले गरेको छ। व्यवसायी र नेतृत्वबीचको दूरी अन्त्य गर्दै प्रत्यक्ष सम्पर्क, छलफल र सहकार्यलाई प्राथमिकता दिने, महत्वपूर्ण निर्णयमा व्यवसायीको सुझाव र सहभागिता सुनिश्चित गर्ने तथा संघलाई कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने राणा प्यानलको एजेण्डा छ।
राणा प्यानलले ‘हामी पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढेका हौँ, हामी भाषणका लागि होइन, परिणामका लागि आएका हौँ’ भन्दै व्यवसायीको समस्या र हकहितलाई आफ्नो पहिलो प्राथमिकता बनाउने जनाएको छ। दुई प्यानलले फरक–फरक एजेण्डा र कार्ययोजनासहित चुनावी अभियान अघि बढाएपछि मदिरा व्यवसायी संघ कैलालीको अधिवेशनमा नेतृत्व चयनलाई लिएर व्यवसायीबीच चासो बढेको छ। अधिवेशनले आगामी कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ।

