धनगढी : धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा उनका श्रीमान सहित परिवारका पाँच जनाविरुद्ध दर्ता गरिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट आदेश भएको छ। अदालतले मृतकका श्रीमान् भरत धामी र नन्द भावना धामीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
जिल्ला अदालत कैलालीका न्यायाधीश ठाकुरप्रसाद पौडेलको इजलासले आज सोमबार सो आदेश गरेका हुन्।अदालतले प्रतिवादीमध्ये बाजे रामबहादुर धामी र बजै मिना धामीलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा फुपू सरस्वती धामी बोहोरालाई एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
पूजाका माइती पक्षले उनलाई दाइजोका कारण यातना दिइएको र सोही कारण हत्या गरिएको दाबी गर्दै उनका श्रीमान् भरतसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले भरत, रामबहादुर, मिना, सरस्वती र भावना धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
मृतकका माइती पक्षका तर्फबाट सरकारी वकिलका अतिरिक्त अधिवक्ता विनोदकुमार भट्ट र अधिवक्ता हिमालय बिष्टलेसमेत अदालतमा बहस गरेका थिए।
कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथलाकी पूजा धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग विवाह गरेकी थिइन्।
गत साउन ११ गते पूजा आफ्नै घरमा सिलिङ पंखामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
अब अदालतको आदेशसँगै श्रीमान् र नन्द पुर्पक्षका लागि कारागार पुगेका छन् भने अन्य तीन जना धरौटी तिरेर थुनामुक्त हुनसक्ने छन्।

