धनगढी । कैलाली भन्सार कार्यालयमा केही एजेन्टहरूको प्रभाव बढ्दै गएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। भन्सार प्रक्रिया सहज र पारदर्शी हुनुपर्नेमा एजेन्टहरूको चलखेलका कारण व्यापारीहरूले अनावश्यक दुःख पाउनुपरेको गुनासो बढ्न थालेको छ। व्यवसायीहरूका अनुसार कार्यालयमा आफैँ पुगेर काम गर्न खोज्दा विभिन्न बहानामा प्रक्रिया लम्ब्याइने, तर निश्चित एजेन्टमार्फत जाँदा काम छिट्टै सम्पन्न हुने अवस्था देखिएको छ। यसले भन्सार प्रशासन र एजेन्टबीचको सम्बन्धमाथि नै प्रश्न उठ्न थालेको व्यवसायीहरूको भनाइ छ।
कतिपय व्यापारीले गैरकानुनी रुपमा एजेन्ट संघको इकाई चलाएर आफूलाई अध्यक्ष बताउँदै आएका दीपेन्द्र भट्टको प्रभाव भन्सार कार्यालयभित्र दादागिरी जस्तै रहेको दाबी गरेका छन्। उनले भन्सार हाकिमसंग पनि सेटिङ गरिरहेको आरोप छ । व्यापारीहरूले भट्टको नाम उल्लेख गर्दै केही कामहरूमा उनको संलग्नताबिना प्रक्रिया सहज नहुने वातावरण सिर्जना गरिएको आरोप लगाएका छन्।
व्यापारीहरूका अनुसार यस्तो अवस्थाले वैधानिक रूपमा व्यवसाय गरिरहेका आयातकर्ताहरू नै बढी मारमा परेका छन्। यता भन्सार प्रशासनले भने सबै सेवा कानुनी प्रक्रिया र प्रचलित व्यवस्थाअनुसार प्रदान भइरहेको जनाएको छ। कुनै व्यक्ति वा समूहलाई विशेष सुविधा दिने नीति नरहेको कार्यालयको दाबी छ।
व्यापारीहरूले भन्सार कार्यालयभित्र हुने गतिविधिको निष्पक्ष छानबिन गरी सेवा प्रवाहलाई थप पारदर्शी बनाउन माग गरेका छन्। उनीहरूले राज्यका सम्बन्धित निकायले आरोपहरूको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। त्रिनगर भन्सारमा भन्सार एजेन्ट इकाई दर्ताबिनै सञ्चालन भइरहेको छ । स्रोतका अनुसार आफूलाई इकाईको अध्यक्ष दाबी गर्दै आएका भट्टले संगठनको नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । तर, उक्त संगठन जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा दर्ता भएको छैन ।
स्रोतका अनुसार गैरकानुनी रुपमा एजेन्टको इकाई चलाएर आफूलाई अध्यक्ष बताउँदै आएका भट्टले भन्सारको मुद्दामा दबाब दिदै आएका छन् । यसबारे बुझ्न भट्टलाई फोन गर्दा सम्पर्क हुन सकेन।

