धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भीम भण्डारीले हिजो पदमुक्त गरेपछि संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री कमल शाहले उक्त निर्णयमा सभामुखले बदनियत राखेको आरोप लगाएका हुन् । मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै शाहले सभामुखको निर्णय पक्षपाती भएको दाबी गरे ।
मुख्यमन्त्री खगराज भट्टले आज विश्वासको मत लिने तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको जिकिर छ ।
‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ । सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो,’ शाहले भने, ‘सभामुखले पक्षपाती निर्णय गर्नुभयो । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रदेशसभा सदस्य प्रकाश देउवाले आफू अनुपस्थित रहेको जानकारी गराए पनि सभामुखले एकपटकसमेत सोधखोज नगरी पदमुक्त गरेको भन्दै शाहले विरोध जनाए ।
यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पनि प्रदेशसभा सदस्यबाट हटाइएको र सर्वोच्च अदालतले पुनर्बहाली गरेको उदाहरण दिँदै शाहले अहिले पनि कानुनी उपचारको बाटो खुला रहेको बताए ।
‘कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा एकपटक सोधपुछ गर्नुपर्छ । यसअघि पनि यस्तै प्रकारका घटना भएका छन्,’ उनले भने ।
सभामुखले दलीय मान्यतालाई आधार बनाएर प्रदेशसभाको अंकगणितलाई हेरी निर्णय गर्न नहुने शाहको भनाइ छ । ‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी सभामुखको भूमिका निर्वाह गर्नुहुँदैन । यस्ता प्रकारका घटना दोहोरिनु हुँदैन,’ उनले भने ।
सभामुखको निष्पक्ष भूमिकाका लागि आफूहरूले सहयोग गर्ने बताउँदै शाहले सभामुखबाट भएका यस्ता गतिविधिको विरोध गरिरहने बताए ।

