धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको साउनसम्म १४० जना सर्पदंशका बिरामीले अस्पतालमा उपचार सेवा लिएका छन्। उपचारका क्रममा ६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालमा आर्थिक वर्ष २०८२ र ८३ मा मात्रै १०९ जना सर्पदंशका बिरामीले उपचार सेवा लिएका थिए। तीमध्ये चार जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए।
त्यस्तै, चालु आर्थिक वर्ष २०८३ र ८४ को साउन महिनामा मात्रै ३० जना सर्पदंशका बिरामी सेती प्रादेशिक अस्पताल पुगेका छन्। तीमध्ये दुई जनाको मृत्यु भएको श्रेष्ठले बताए।
समयमै अस्पताल नपुग्दा जोखिम
श्रेष्ठका अनुसार साउन महिनामा अस्पताल पुगेका ३० जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो भने अर्का एक जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भएको थियो।
सर्पले टोकेपछि समयमै अस्पताल पुग्नुको सट्टा सामाजिक अन्धविश्वासका कारण गाउँघरमै झारफुक गर्ने र उपचारमा ढिलाइ गर्ने प्रवृत्तिका कारण बिरामीको ज्यान जाने गरेको श्रेष्ठले बताए।
सर्पदंशको औषधि पर्याप्त
सेती प्रादेशिक अस्पतालमा कैलालीसहित सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। विशेषगरी गर्मी तथा वर्षायाममा सर्पदंशका घटना बढ्ने गरेका छन्।
यसअघि सर्पदंशका बिरामीका लागि आवश्यक औषधिको अभाव हुने गरेको भए पनि अहिले औषधिको समस्या नरहेको अस्पतालले जनाएको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार हाल सेती प्रादेशिक अस्पतालमा करिब ३५ जना बिरामीलाई पुग्ने आवश्यक औषधि मौज्दात रहेको छ।
अस्पतालले सर्पले टोकेमा झारफुक तथा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउन आग्रह गरेको छ।

