कञ्चनपुर — कञ्चनपुर र कैलालीको सीमा विवाद रहेको चुरेको धौलेपानी क्षेत्रमा रूख कटानको विषय विवादित देखिएको छ । डिभिजन वन कार्यालय कैलालीले डिभिजन वन कार्यालय कञ्चनपुरको क्षेत्राधिकारभित्र पर्ने स्थानमा रूख कटानको आदेश दिएपछि विवाद बढेको हो । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले गरेको छानबिन प्रतिवेदन अनुसार धौलेपानीमा कटान गरिएका रूख कञ्चनपुरको क्षेत्रमा पर्ने देखिएको हो । निर्देशनालयले विभिन्न ठाउँमा घाटगद्दी गरिएका र ढुवानी भइरहेको अवस्थामा साउन तेस्रो साता सालका गोलिया बरामद गरेको थियो । त्यसपछि अनुसन्धानका लागि सव( डिभिजन वन कार्यालय बाणीका वन अधिकृत वालमुकुन्द भट्टलाई छानबिनको जिम्मा दिइएको थियो । सोही प्रतिवेदनले रूख कटान गरिएको क्षेत्र कञ्चनपुरमा पर्ने देखाएको छ ।
‘छानबिन प्रतिवेदनले रूख कटान गरिएको क्षेत्र कञ्चनपुरमा पर्ने देखाएको छ,’ सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले भने, ‘धौलेपानी विवादित क्षेत्र हो भन्ने थाहा हुँदा हुँदै सोही क्षेत्रका कटान आदेश किन दिइयो रु, फेरि अहिले ढुवानीको समय पनि होइन ।’ उनले प्रतिवेदनका आधारमा थप छानबिनदेखि कारबाही प्रक्रिया अघि बढाइएको बताए । डिभिजन वन कार्यालय कैलालीका प्रमुख राम बिचारी ठाकुर कञ्चनपुरबाटै कैलाली सरुवा भएका हुन् ।
निर्देशनालयले डिभिजन वन कार्यालय कैलालीका प्रमुख ठाकुरलाई स्पष्टीकरण सोधेको विष्टले बताए । उनका अनुसार अहिले बर्खायाममा घाटगद्दी गर्ने उपयुक्त समय नहुँदा पनि किन गरियो रु, विवादित ठाउँ हो भन्ने थाहा हुँदाहुँदै पनि सोही क्षेत्रमा किन कटान आदेश दिइयो रु र अरू कुनै कर्मचारीको संलग्नता छ भने कारबाही गरिएको छ वा छैन रु भनेर स्पष्टीकरण सोधिएको बताए ।
चुरेको वनमा कटान गरिएको उक्त काठ अवैध नदेखिएपछि विवादित क्षेत्रमा कटान आदेश दिनु गलत भएको र बर्खायाममा घाटगद्दी तथा ढुवानीको काम गलत देखिएको उनले बताए । दुई साताअघि डिभिजन वन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालयका टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वनमा ६४ गोलिया सालका काठ बरामद गरेको थियो ।
यसैगरी कृष्णपुर नगरपालिका–१ बण्डमा रातीको समयमा ३ वटा ट्रयाक्टरमा ढुवानी भइरहेको १ सय १९ गोलिया र सोही वडाको निगालीमा सडक किनारमा फालिएको अवस्थामा ३३ गोलिया सालका काठ बरामद गरेको थियो । विभिन्न स्थानबाट गरेर २ सय १६ गोलिया अर्थात् १ हजार ४ सय ७० क्युफिट काठ बरामद गरिएको छ । धैलेपानी क्षेत्रमा अहिले पनि १ सय ८ गोलिया अलपत्र अवस्थामा रहेको पाइएको छ ।
डिभिजन वन कार्यालय कैलालीले धौलेपानी क्षेत्रमा १ सय ७९ रूख कटानका लागि छपान गरेको थियो । जसमध्ये ६६ रूख काटिएका छन् । रूख कटान भएको क्षेत्र कञ्चनपुरमै पर्ने छानबिन प्रतिवेदनले देखाएको छ । बर्खायाममा वन प्रवेश निषेध गरिएको हुन्छ । यही बेला धमाधम सालका गोलिया ढुवानी हुन लागेको प्रति आशंका उब्जिएको छ । एकातिर विवादित क्षेत्रमा रूख कटान गरिनु र अर्कोतिर प्रतिकूल समयमा ढुवानी हुनु आफैंमा शंकास्पद भएको वनकर्मीहरू बताउँछन् ।
ढुवानी भइरहेको र घाटगद्दी गरिएको अवस्थामा काठ बरामद भएपछि निर्देशनालयसागै डिभिजन वन कार्यालय कञ्चनपुर र डिभिजन वन कार्यालय कैलालीले समेत अनुसन्धान सुरु गरेका थिए । कञ्चनपुले वन अधिकृत विशेश्वरप्रसाद जोशीलाई र कैलालीले वन अधिकृत जीवछ यादवलाई अनुसन्धान अधिकृत तोकेको थियो ।कान्तिपुरबाट

