धनगढी । जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुका स्थानीयवासी यतिबेला धमाधम घर छाडेर त्रिपालमा बस्न थालेका छन् । साउन २८ गते राति परेको अविरल वर्षाका कारण ताम्सु गाउँमाथिबाट आएको पहिरोले बस्ती नै जोखिममा परेपछि ज्यान जोगाउन स्थानीयवासी घर छाडेर त्रिपालमा बस्न थालेका हुन् ।
पहिरोका कारण यहाँको बाँगापाटाको साउद टोल, सार्की–मिजार टोल र ताम्सु गाउँ चिराचिरा परेको छ । घरमा बस्न स्थानीयवासी डराइरहेका छन् । गाउँमा थोरै पानी पर्दासमेत माथिबाट पहिरो खस्ने भएकाले उनीहरू घरमा नबसी त्रिपालमा बस्न थालेका हुन् ।
हिउँदमा गाउँको माथि र तल दुवैतर्फ सडक खन्ने काम भएको थियो । सडक खन्ने क्रममा जमिन कमजोर भएका कारण अहिले पहिरो गएको हुन सक्ने स्थानीयको भनाइ छ ।
अहिले वर्षात्को समय भएकाले थोरै पानी पर्दासमेत गाउँमा पहिरो खस्ने गरेको छ । पहिरोले गाउँमा क्षति पुर्याउँदै आएको छ । त्यसका कारण घरसँगै ज्यानसमेत जोखिममा पर्ने डरले घरमा नबसी त्रिपालमा बस्नुपरेको त्रिवेणी नगरपालिका–९ का स्थानीय गोविन्द थापाले बताए ।
ताम्सुमा करिब ६१ घरपरिवारको बसोबास छ । तीमध्ये चार घर पूर्ण रूपमा क्षति भएका छन् भने अन्य घरसमेत पहिरोको उच्च जोखिममा रहेको जिल्ला रेडक्रस शाखा बाजुराका सभापति मेखराज जैशीले बताए ।

