धनगढी — थारू समुदायको मौलिक संस्कृति, परम्परा तथा सामाजिक एकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीको गुरही चोकमा ‘गुरही असरेना कार्यक्रम २०८३’ आयोजना हुने भएको छ।
गुरही चोकस्थित मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै थारू समुदायको मौलिक सांस्कृतिक पर्व गुरहीको संरक्षण, प्रवर्द्धन तथा दस्तावेजीकरणका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो।
समितिका संयोजक सानु चौधरीका अनुसार गुरही पर्व थारू समुदायको मौलिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ। प्रकृति, कृषि र मानव जीवनबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने यस पर्वमा गुरही अर्थात् ‘ड्रागनफ्लाई’प्रति सम्मान व्यक्त गर्ने परम्परा रहेको छ। कृषि प्रणालीमा हानिकारक किराको नियन्त्रण गरी वातावरणीय तथा जैविक सन्तुलन कायम गर्न सहयोग गर्ने भएकाले गुरहीलाई किसानको साथीका रूपमा सम्मान गर्ने गरिएको समितिले जनाएको छ।
गुरही पर्व बालबालिकाको सक्रिय सहभागितामा मनाइने भएकाले यसले बालबालिकामा संस्कृति, सामाजिक उत्तरदायित्व, सहकार्य र सामुदायिक एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ। बालबालिकाले घरबाट बनाइएको गुरही तथा घुँघरीसहित गुरही असरेना गाउने, परम्परागत सोंटा लिएर सहभागी हुने र सामूहिक रूपमा प्रसाद वितरण गर्ने परम्परा रहेको छ।
कार्यक्रमको अवसरमा ‘थारू समुदायको मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन तथा सामाजिक एकताको अभियान’ भन्ने मूल नाराका साथ गुरही पर्वको संरक्षण, प्रवर्द्धन र दस्तावेजीकरणसँगै सांस्कृतिक हस्तान्तरण, सांस्कृतिक पर्यटनको विकास, स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धन, महिला तथा युवाको सहभागिता अभिवृद्धि र सामाजिक सद्भाव सुदृढीकरणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार धनगढीको गुरही चोकमा विगत १७ वर्षदेखि गुरही असरेना कार्यक्रम आयोजना हुँदै आएको छ। यस वर्ष पनि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न गतिविधि सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमअन्तर्गत २०८३/०४/३१ गते बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म वातचित घरको संयोजनमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिनेछ। सोही दिन साँझ ४ बजेदेखि ६ः३० बजेसम्म गुरही चोक वरिपरि मूल आयोजक समिति, युवा सञ्जाललगायतको संयुक्त पहलमा सरसफाइ कार्यक्रम गरिने आयोजकले जनाएको छ।
त्यस्तै, २०८३/०५/०१ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म गुरही असरेना कार्यक्रम आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि ४ बजेसम्म औपचारिक कार्यक्रम, साँझ ४ बजेदेखि ६ बजेसम्म सांस्कृतिक कार्यक्रम तथा साँझ ६ः३० बजेदेखि ७ बजेसम्म गुरही समापन तथा सरसफाइ कार्यक्रम गरिनेछ।
कार्यक्रममा थारू लेखक संघ धनगढी, थारू कल्याणकारिणी सभा नगर समिति धनगढी, वातचित घर, थारू महिला सभा, थारू विद्यार्थी समाज, थारू नागरिक समाज, गुरही मूर्ति निर्माण समिति, राष्ट्रिय वातचित घर, थारू कलाकार मञ्च, सखी मञ्च कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, थारू पत्रकार संघ, थारू महिला सञ्जाल, नगर भलमन्सा समिति धनगढी, हिरार साहित्यिक बगाल, थारू छात्रावास धनगढी, आदिवासी जनजाति युवा महासंघलगायत विभिन्न संघसंस्थाको सहकार्य रहने आयोजकले जनाएको छ।

