काठमाडौं । धनगढी विमानस्थलको स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी सुदृढीकरणका विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय योजना आयोगको सभाहल, सिंहदरबारमा बिहीबार दिउँसो सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, सुदूरपश्चिम प्रदेशका सांसद, पर्यटन क्षेत्रका सरोकारवाला तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।
अन्तरक्रियामा धनगढी विमानस्थलको वर्तमान अवस्था, आवश्यक पूर्वाधार विकास, क्षमता विस्तार तथा हवाई सेवा र कनेक्टिभिटी सुधारका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले धनगढी विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन रूपमा विस्तार गरी सुदूरपश्चिमको पर्यटन, व्यापार, लगानी तथा आर्थिक विकासको प्रमुख प्रवेशद्वारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम आयोजक नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमले विमानस्थलको स्तरोन्नतिलाई सुदूरपश्चिमको समग्र पर्यटन विकाससँग जोड्दै स्पष्ट योजना, पर्याप्त बजेट र समयबद्ध कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।
नाट्टा सुदूरपश्चिमले धनगढी विमानस्थल केवल हवाई यातायातको पूर्वाधार नभई सुदूरपश्चिमको पर्यटन, व्यापार, रोजगारी र समृद्धिको आधार भएकाले यसको स्तरोन्नति राष्ट्रिय महत्वको विषय भएको जनाएको छ।
कार्यक्रमले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकार, सम्बन्धित निकाय, राजनीतिक नेतृत्व तथा निजी क्षेत्रबीच थप समन्वय र सहकार्यको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।
“पर्यटन उठे नेपाल उठ्छ” भन्ने नारासहित आयोजना गरिएको अन्तरक्रियाले सुदूरपश्चिमको पर्यटन विकासका लागि हवाई पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

