धनगढी । कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । कैलारी –५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल बुधबार उद्घाटन गरेर सञ्चालनमा आएको हो । अस्पतालको एक कार्यक्रमकाबीच कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गरेका थिए ।
सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त अस्पताल असारमा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । सङ्घीय सरकारको स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुसार कैलारीमा पनि १५ शय्याको अस्पताल निर्माण गरिएको थियो ।

अस्पताल सञ्चालनमा आएपछि कैलारी गाउँपालिकाको विशेषगरी दक्षिणी क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । यसअघि गाउँपालिकामा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत स्थानीयवासी उपचारका लागि धनगढी पुग्ने गरेका थिए ।
स्थानीयस्तरमै १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि सामान्यदेखि आवश्यक स्वास्थ्य उपचारसम्म गाउँमै उपलब्ध हुने र उपचारका लागि धनगढी तथा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । १५ शय्याको अस्पताल उद्घाटन भएसँगै अस्पतालबाट OPD सेवा, ल्याब सेवा, फार्मेसी सेवा, X-ray सेवा, ECG सेवा, प.नि. सेवा, खोप लगायतको स्वास्थ्य सेवा सुचारु भएको स्वास्थ्य प्रमुख नरेश चौधरीले जानकारी दिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, बरघर भलमन्सा, कर्मचारी, स्वाथ्यकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो

