धनगढी । सोमबार धनगढी– ४ की पूजा धानुकको शंकास्पद मृत्यु भयो । माइती पक्षले हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएपछि प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा श्रीमान भरत धामी, उनका बाजे–बज्यै, फुपू र बहिनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार माइती पक्षले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । ‘माइती पक्षको किटानी जाहेरीपछि पाँच जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरीक्षक बिष्टले भने ।
सेतीमा फरेन्सिक विज्ञ नभएपछि पोस्टमार्टम नेपालगञ्जमा
मृतक पूजाको शव पोस्टमार्टमका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा फरेन्सिक विशेषज्ञ उपलब्ध नभएकाले माइती पक्षकै आग्रहमा शव नेपालगञ्ज लगिएको हो । पूजाको भाइती घर कञ्चनपुरको बेदकोट नगरपालिका–१, हात्तीथला हो । उनले प्रेम सम्बन्धपछि गत मंसिरमा धनगढीका भरत धामीसँग विवाह गरेकी थिइन् । विवाह भएको नौ महिना नपुग्दै उनको मृत्यु भएको हो ।
श्रीमानको बयान : ‘पंखामा झुण्डिएको देखेँ, अस्पताल पुर्याएँ’
प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा श्रीमान भरत धामीले सोमबार धनगढी–४ स्थित आफ्नै घरमा पूजा पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताएका छन् । उनका अनुसार त्यसपछि उनले आफैं पूजालाई उपचारका लागि नवजीवन अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए । तर, प्रहरीका अनुसार अस्पताल पुर्याएपछि पनि भरतले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिएनन् । ‘अस्पतालमा खटिएका प्रहरीले सूचना दिएपछि मात्रै हामी घटनाको अनुसन्धान सुरु गरेका हौं,’ प्रहरी निरीक्षक बिष्टले भने ।
मृत्युअघि आमासँग लामो फोन संवाद
पूजाले मृत्यु हुनुअघि आमासँग फोन संवाद गरेकी थिइन् । मृतककी आमाका अनुसार पूजाले घटनाकै दिन आफूलाई परिवारका सदस्यबाट मानसिक तनाव दिइएको गुनासो गर्दै माइती घर फर्किएर लामो समय बस्ने तयारीमा रहेको बताएकी थिइन् । ‘छोरीले परिवारका सदस्यले धेरै तनाव दिएका छन् भनेकी थिइन्,’ उनकी आमाले भनिन् । उनका अनुसार केही समयपछि भने श्रीमान भरतले फोन गरेर पूजाले झुन्डिएर आत्महत्याको प्रयास गरेको र उपचारका लागि अस्पताल लैजाँदै गरेको जानकारी दिएका थिए ।
माइती पक्षले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गरेको छ । प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।

