धनगढी: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले विश्वविद्यालय सञ्चालन प्रक्रियामा कुनै पनि प्रकारको अवरोध नगर्न सरकार र सरोकारवालालाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुँवरले तीन दशक लामो संघर्षपछि आम सुदूरपश्चिमवासीको सपनाका रूपमा विश्वविद्यालय स्थापना भएको उल्लेख गरेका छन्। विश्वविद्यालय स्थापनाका लागि आन्दोलन, खबरदारी र विभिन्न चरणका संघर्षमा साथ दिने सम्पूर्ण सुदूरपश्चिमवासी तथा विश्वविद्यालय सञ्चालनका लागि महत्वपूर्ण निर्णय गर्ने नेपाल सरकारप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
कुँवरले आफूले विश्वविद्यालय सञ्चालनार्थ संघर्ष समितिको सचिवका रूपमा विभिन्न आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै साझा मुद्दाका लागि सबै पक्ष एकजुट भएकै कारण विश्वविद्यालय स्थापना सम्भव भएको बताएका छन्। तर अहिले विश्वविद्यालय सञ्चालन प्रक्रियालाई विभिन्न बहानामा अवरोध गर्ने प्रयास भइरहेको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी केही माग राखेर अनशन बसेको सन्दर्भमा संघर्ष समितिले साउन ७ गते व्यक्त गरिएका केही अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको उनले बताएका छन्। विरोधपछि सामाजिक सञ्जालमा संघर्ष समितिको आलोचना भए पनि समितिको उद्देश्य विश्वविद्यालय सञ्चालन प्रक्रिया अवरुद्ध हुन नदिनु मात्रै रहेको उनको भनाइ छ।
कुँवरले विश्वविद्यालय ऐन, २०८२ अनुसार खुला प्रतिस्पर्धाबाट नियुक्त भएका पदाधिकारीलाई सरकारले किन बर्खास्त गर्यो भन्ने प्रश्न उठाउँदै त्यसबेला डा. गोविन्द केसीलगायत सम्बन्धित पक्ष मौन किन बसे भन्ने जिज्ञासा व्यक्त गरेका छन्। पदाधिकारी हटाइएपछि यसै शैक्षिक सत्रबाट शिक्षण अस्पताल सञ्चालन तथा एमबीबीएससहितका शैक्षिक कार्यक्रम सुरु हुने सुनिश्चितता कसले गर्ने भन्ने विषयमा पनि उनले प्रश्न उठाएका छन्।
उनले विश्वविद्यालय ऐनअनुसारको कानुनी व्यवस्था बुझ्न आवश्यक रहेको उल्लेख गर्दै विश्वविद्यालय सञ्चालनमा अवरोध गर्ने प्रवृत्तिविरुद्ध फेरि एकपटक सुदूरपश्चिमवासी एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
अन्त्यमा कुँवरले विश्वविद्यालय सञ्चालनलाई सुनिश्चित गर्न सम्पूर्ण सुदूरपश्चिमवासीलाई एक ठाउँमा उभिन, आफ्नो अभिमत व्यक्त गर्न र आवश्यक परे सरकारलाई कडा खबरदारी गर्न आग्रह गरेका छन्।

