धनगढी: कैलालीको भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरीले निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्थानीय तहसँगको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण, कैलालीले धनगढी उपमहानगरपालिका–१२ मा आयोजना गरेको शिविरबाट सीमा क्षेत्रका सयौँ नागरिकले प्रत्यक्ष लाभ लिएका छन्। भारतसँग सीमा जोडिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १० र १२ का नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। सामान्य रोगदेखि दीर्घरोगसम्मका बिरामीको परीक्षण गरिएको थियो भने आवश्यक परेका बिरामीलाई थप उपचारका लागि अस्पतालमा रिफरसमेत गरिएको आयोजकले जनाएको छ।
सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले धनगढीस्थित निसर्ग अस्पताल र धनगढी उपमहानगरपालिका–१२ को सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको हो। सीमावर्ती क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु, उनीहरूका स्वास्थ्य समस्या पहिचान गर्नु तथा राज्यप्रति विश्वास अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर ७ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति दिग विजय सुवेदी ले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताए।

उनले भने, हामीले निसर्ग अस्पतालसँग सहकार्य गरेका छौँ। अस्पतालका विशेषज्ञ चिकित्सक, धनगढी उपमहानगरपालिका १२ का स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीमार्फत नागरिकलाई सेवा प्रदान गरिएको छ। आगामी दिनमा पनि सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नियमित रूपमा यस्ता स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएका छौँ। सीमावासीको सुरक्षा मात्र होइन, उनीहरूको स्वास्थ्य र जीवनस्तर सुधारमा पनि सशस्त्र प्रहरी प्रतिबद्ध छ।
शिविरमा विभिन्न रोगका बिरामीको स्वास्थ्य परीक्षणसँगै रक्तचाप, मधुमेह, श्वासप्रश्वास, छाला, हाडजोर्नी, महिला तथा बाल स्वास्थ्य लगायतका समस्याको परीक्षण गरिएको थियो। चिकित्सकहरूले स्वस्थ जीवनशैली, सरसफाइ, पोषण र रोगबाट बच्ने उपायबारे पनि परामर्श दिएका थिए। धनगढी उपमहानगरपालिका–१२ का वडा अध्यक्ष सेरबहादुर महरा ले आर्थिक अवस्था कमजोर भएका सीमा क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिन हुने भएकाले यस्ता शिविर अत्यन्तै आवश्यक रहेको बताए।
उनले भने, हाम्रो वडामा धेरैजसो निम्न आय भएका नागरिक बसोबास गर्नुहुन्छ। उहाँहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा लिन शहरसम्म पुग्न आर्थिक तथा भौगोलिक समस्या हुने गरेको छ। त्यसैले सशस्त्र प्रहरीसँग निरन्तर समन्वय गरेर यो स्वास्थ्य शिविर सञ्चालन गर्न सफल भएका हौँ। जनताको सेवाभन्दा ठूलो काम अरू केही हुँदैन। यस कार्यमा सहयोग गर्ने सशस्त्र प्रहरी, निसर्ग अस्पताल र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गर्दछु।
शिविरबाट लाभान्वित स्थानीयवासी पृथ्वी चौलागाईँ ले गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँदा निकै राहत महसुस भएको बताए। उनले भने, अस्पतालसम्म पुग्न समय र खर्च दुवै लाग्छ। आर्थिक अवस्था कमजोर भएकाहरूका लागि यस्तो शिविर धेरै उपयोगी हुन्छ। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क पाउँदा हामी निकै खुसी भएका छौँ। यस्ता कार्यक्रम नियमित हुनुपर्छ। स्थानीयवासीहरूले सीमा क्षेत्रमा नियमित रूपमा स्वास्थ्य सेवा पुग्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता शिविरले उपचारबाट वञ्चित नागरिकलाई ठूलो राहत मिलेको बताएका छन्।

सशस्त्र प्रहरीका अनुसार सुरक्षा जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै सीमा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ। स्वास्थ्य शिविर पनि त्यसै अभियानको एक हिस्सा रहेको जनाइएको छ। सीमावर्ती क्षेत्रमा आयोजना गरिएको यस शिविरले दुर्गम बस्तीका नागरिकलाई घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध थप सुदृढ बनाएको विश्वास गरिएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि सीमा क्षेत्रका विभिन्न वडामा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचभित्र ल्याउने योजना रहेको छ।

