धनगढी: कैलालीको जानकी गाउँपालिका–१ स्थित श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा संकलन गरी सःमिलमा घाटगद्दी गरिएको काठ लिलाम बिक्री गर्न फरकफरक मितिमा दुई वटा सूचना प्रकाशित गरेको छ। समूहले असना, शिरिष र खयर प्रजातिको ४ हजार ३३९.४९ क्युफिट काठ बोलपत्रमार्फत लिलाम बिक्री गर्न काठमाडौँबाट प्रकाशित हुने सिटी पोष्टमा जेठ २६ र २९ गतेको मितिमा सूचना जारी गरेको हो। दुबै सूचना अनुसार इच्छुक व्यक्ति, संघ–संस्था, फर्म तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोलपत्र फाराम खरिद गर्न सक्नेछन्।
खरिद गरिएको शिलबन्दी बोलपत्र २२औँ दिन बिहान १०:०० बजेसम्म कार्यालयमा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ। वन उपभोक्ता समूहले जेठ २६ गते निकालेको सूचनामा प्रथम पटक प्रकाशित सूचना भनेर उल्लेख गरेको छ भने जेठ २९ गतेको सूचनामा पनि प्रथम पटक प्रकाशित भनेर सूचनाको व्यहोरा उल्लेख गरेको छ। जबकि काठको परिमाण भने समान छ।
जेठ २६ को सूचनाअनुसार बोलपत्र बुधबार खुलाउनपर्ने हो भने २९ गतेको सूचनाअनुसार शुक्रबार बोलपत्र खोल्ने समय २२ दिन पूरा हुन्छ। सामुदायिक वन समूहले झुक्याउने गरी दुईदुई पटक सूचना निकालेको सरोकारवालाको बुझाइ छ। उनीहरूले मिलेमतोमा काठ लिलाम गर्न टेण्डरकै सूचनामा जालझेल गर्न खोजिएको साबी गरेका छन्।
यता सामुदायिक वन समूहका अध्यक्ष भीमबहादुर साउँदले भने जेठ २६ को मितिमा काठ लिलामको सूचना निकाल्न पत्रीकालाई विवरण उपलब्ध गराएको बताए। उनले पत्रीकाले नै त्रुटिले एकै सूचना दुईपटक प्रकाशित गरेको बताए। अध्यक्ष साउँदले पत्रीकाको कारण आफूहरू समस्यामा परेको बताउँदै टेण्डर दुबै सूचनाअनुसार टेण्डर बिक्रीवितरण गर्ने जानकारी दिएका छन्।

