धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८५ स्थानीय तहले आफ्नो बजेट सार्वजनिक गरेका छन् । बजेट प्रस्तुत नगर्नेमा कैलालीका दुई र अछामको एउटा पालिका रहेका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अझै केही पालिकाले बजेट ल्याउन सकेका छैनन् । बाजुराका जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाका अनुसार बाजुराका नौ वटै पालिकाको बजेट सार्वजनिक भइसकेको छ ।
बझाङका समन्वय प्रमुख नरबहादुर बोहराका अनुसार बझाङका १२ वटै पालिकामै निर्धारित समयमै बजेट ल्याइएको छ । अछामका १० मध्ये एउटा बान्नीगढीजयगढ गाउँपालिकामा बजेट आउन बाँकी रहेको समन्वय प्रमुख ललितबहादुर कुँवरले बताउनुभयो । बैतडीका १० र दार्चुलाका पनि नौ वटै पालिकाको बजेट आएको छ ।
यस्तै डडेलधुराका सात वटै पालिकाको बजेट आइसकेको छ । डोटी जिल्ला समन्वय प्रमुख लक्ष्मणबहादुर सिंहका अनुसार डोटीका नौ वटै पालिकामा बजेट ल्याइएको छ । कञ्चनपुरका समन्वय प्रमुख दुर्गादत्त बोहोराका अनुसार कञ्चनपुरका सातै पालिकाको बजेट आएको छ ।
सबैभन्दा बढी १३ पालिका रहेको कैलालीमा टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाबाहेक सबै पालिकाको बजेट आएको छ । टीकापुर नगरप्रमुख र उपप्रमुखविहीन भएकाले आगामी साता बजेट ल्याउने गरेर तयारी भएको छ ।

