धनगढी — धनगढी उपमहानगरपालिका–१२ मा बढ्दो लागुऔषध प्रयोग तथा दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। अन्तराष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी बिरुद्धको दिवशको अवशरमा कार्यक्रम आयोजना गरिएको हो । वडा कार्यालयको आयोजनामा वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पछिल्लो समय विशेषगरी युवापुस्तामा लागुऔषध प्रयोग र दुर्व्यसनको समस्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १२ का अध्यक्ष सेरबहादुर महराले भारतसँग सीमा जोडिएको तथा विभिन्न कारणले जोखिममा रहेको वडा भएकाले लागुऔषध दुर्व्यसनको चुनौती अन्य स्थानको तुलनामा बढी रहेको बताए। उनले यो समस्या कुनै एक व्यक्ति वा निकायले मात्र समाधान गर्न नसक्ने भएकाले परिवार, विद्यालय, समुदाय र सरोकारवाला सबैको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले भने, “हामी घर, टोल र समाजबाटै सचेतनाको अभियान सुरु गरौँ। वडाको सीमित स्रोत–साधनबाट विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ। तर हाम्रो प्रयास मात्र पर्याप्त हुँदैन। हाम्रा छोराछोरीको भविष्य लागुऔषध र दुर्व्यसनले अन्धकारतर्फ धकेलिरहेको छ। सबै मिलेर काम नगर्ने हो भने अवस्था अझ विकराल बन्न सक्छ। त्यसैले सबै पक्ष सचेत र जिम्मेवार बन्न आवश्यक छ।”

वडा अध्यक्ष महराले अभिभावकलाई आफ्ना छोराछोरीको दैनिक गतिविधि, साथीभाइको संगत, घरबाहिरको समय र व्यवहारमा देखिने परिवर्तनप्रति विशेष ध्यान दिन आग्रह गरे। उनले बालबालिकासँग नियमित संवाद गर्न र उनीहरूको समस्या समयमै बुझ्न सके दुर्व्यसनतर्फ लाग्नबाट रोक्न सकिने बताए। त्यसैगरी विद्यालयका शिक्षकहरूलाई पनि विद्यार्थीको व्यवहार, हाजिरी, अध्ययनप्रतिको रुचि तथा साथीहरूको समूहलाई नजिकबाट निगरानी गर्न आग्रह गर्दै कुनै पनि असामान्य गतिविधि देखिएमा तत्काल अभिभावक र सम्बन्धित निकायसँग समन्वय गर्न सुझाव दिए।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूले लागुऔषध सेवनका कारण शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक रूपमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराएका थिए। उनीहरूले लागुऔषधले व्यक्तिको स्वास्थ्य मात्र नभई परिवार, समाज र समग्र समुदायमा समेत गम्भीर असर पार्ने भएकाले यसको रोकथाममा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। सहभागीहरूले लागुऔषध नियन्त्रणका लागि विद्यालयस्तरमा नियमित सचेतनामूलक कार्यक्रम, समुदायमा जनचेतना अभियान, खेलकुद तथा रचनात्मक गतिविधिको विस्तार, अभिभावकको सक्रिय सहभागिता र सम्बन्धित निकायबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका थिए।
वडा कार्यालयले आगामी दिनमा पनि लागुऔषध तथा दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको सहभागितामा सुरक्षित, स्वस्थ र दुर्व्यसनमुक्त समाज निर्माणका लागि अभियान सञ्चालन गर्ने जनाएको छ।

