धनगढी — नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवसको अवसरमा कञ्चनपुरमा ट्राफिक सचेतना तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। संगठनको कञ्चनपुर जिल्ला कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमले सुरक्षित यातायात र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले वर्तमान समयमा सुरक्षित यातायात सबैको साझा आवश्यकता बनेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि चालक, सहचालक, यातायात व्यवसायी तथा सर्वसाधारण सबै सचेत हुनुपर्ने बताए। उनले ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै दुर्घटनामुक्त यातायात प्रणाली निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
प्रदेश अध्यक्ष चन्दले यातायात क्षेत्रमा कार्यरत मजदुरहरूको हकहित संरक्षणका लागि उनीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउनुपर्नेमा जोड दिए। सामाजिक सुरक्षा कोषमा आबद्धताले मजदुरहरूको भविष्य सुरक्षित हुने र उनीहरूले विभिन्न सामाजिक तथा आर्थिक सुविधा प्राप्त गर्न सक्ने उनको भनाइ थियो।
संगठनका कञ्चनपुर जिल्ला अध्यक्ष हर्कबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात क्षेत्रमा कार्यरत मजदुर, चालक, सहचालक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा दुई दर्जन व्यक्तिले रक्तदान गरेका थिए। रक्तदानबाट संकलित रगतले उपचारका क्रममा रगत अभाव झेलिरहेका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
यस्तै, ट्राफिक सचेतना कार्यक्रममार्फत सडक सुरक्षा, सवारी सञ्चालनका नियम, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित सामाजिक तथा जनचेतनामूलक कार्यक्रमले यातायात मजदुरहरूबीच एकता, जिम्मेवारी र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। संगठनले आगामी दिनमा पनि मजदुर हित, सुरक्षित यातायात र सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


