धनगढी: अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयहरूमा अध्ययन–अध्यापन कार्य स्थगित गरी बिदाको व्यवस्था मिलाउन निर्देशन दिइएको छ। उक्त बिदा पछि वर्षे तथा हिउँदे बिदाबाट मिलान गरिने जनाइएको छ।
पछिल्ला केही दिनदेखि बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ। साथै, उपमहानगरपालिकाले सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकलाई गर्मी तथा लुबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त मात्रामा पानी पिउन तथा स्वास्थ्यसम्बन्धी समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन समेत आग्रह गरिएको छ।
उपमहानगरपालिकाको यो निर्णयसँगै धनगढी क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि पठनपाठन बन्द रहनेछ।



