धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले बुधबार पदभार ग्रहण गरेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका भट्टराईले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर तथा कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी कार्यालयका प्रमुखसहित प्रहरी कर्मचारीहरूले नवआगन्तुक प्रदेश प्रहरी प्रमुखको स्वागत गरेका थिए।
पदभार ग्रहणपश्चात आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा प्रहरी जनशक्ति व्यवस्थापनबारे जानकारी लिएका थिए। उनले प्रदेशभर अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने, नागरिक तथा पीडितमैत्री सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने तथा मानवअधिकारको संरक्षणमा विशेष ध्यान दिन निर्देशन दिएका छन्।
त्यसैगरी उनले प्रहरीको आचरण र व्यवहारमा सुधार, आर्थिक सुशासनको प्रवर्द्धन, लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण, जुवातासलगायतका गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै चुस्त र दुरुस्त प्रहरी परिचालन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रदेश प्रहरी प्रमुख भट्टराईले कानुनको प्रभावकारी कार्यान्वयन, नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न योजनाबद्ध ढंगले प्रहरी गतिविधि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।



