धनगढी। भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुहागाउँ क्षेत्रका स्थानीयवासीले सडक विस्तारका क्रममा दायाँ–बायाँ १५/१५ मिटर मात्रै क्षेत्र कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
स्थानीयवासीको तर्फबाट युवा नेता तथा ब्यावसायी राम भाट लगायतका स्थानियले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाइएको हो। ज्ञापनपत्रमा भीमदत्त राजमार्गसँग जोडिएका कैलाली, डोटी र डडेल्धुराका बासिन्दाको दैनिक जनजीवन, बसोबास तथा व्यवसाय सडक विस्तारको निर्णयबाट प्रभावित हुन सक्ने उल्लेख गरिएको छ। हाल कायम रहेको बस्ती, घर, पसल तथा अन्य संरचनाहरू जोगाउने गरी सडकको दायाँ–बायाँ १५/१५ मिटर मात्रै विस्तार गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीयवासीले सडक विस्तारका नाममा आवश्यकता भन्दा बढी क्षेत्र खाली गराउँदा हजारौं नागरिक विस्थापित हुने तथा ठूलो आर्थिक तथा सामाजिक क्षति पुग्ने बताएका छन्। सडक स्तरोन्नति र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने पक्षमा आफूहरू रहेको जनाउँदै स्थानीयले जनताको हितलाई ध्यानमा राखी व्यावहारिक निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।
ज्ञापनपत्रमा सम्बन्धित निकायले स्थानीयको भावना र आवश्यकता बुझेर सडक विस्तारको मापदण्ड पुनरावलोकन गर्न तथा भीमदत्त राजमार्गको दायाँ–बायाँ १५/१५ मिटर मात्रै विस्तार गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।
उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बुझाइएको थियो, जसलाई प्रधानमन्त्री कार्यालयमा पठाइने जनाइएको छ।


