धनगढी । सुदूरपश्चिम प्रदेशको उच्च शिक्षा क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ। अब विद्यार्थीहरूले काठमाडौं धाउनुपर्ने बाध्यता कम हुँदै धनगढीमै बसेर काठमाडौं विश्वविद्यालयका स्नातक तहका कार्यक्रम अध्ययन गर्न सक्ने भएका छन्।
धनगढी–चटकपुरस्थित Sophan College मा यसै शैक्षिक सत्रदेखि Kathmandu University अन्तर्गतका ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (BIT) र ब्याचलर अफ सोशल वर्क (BSW) कार्यक्रम सञ्चालन हुने भएका हुन्। कलेजका अध्यक्ष एवं युवा उद्यमी सैलेश कुमार शिङ्हले ले गुणस्तरीय, स्वरोजगार तथा रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्यअनुसार कलेज अघि बढिरहेको बताउनुभयो। उहाँका अनुसार काठमाडौं विश्वविद्यालयका यी कार्यक्रम सञ्चालनसँगै सुदूरपश्चिमका विद्यार्थीहरूले आफ्नै प्रदेशमा अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उच्च शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।
क्याम्पस प्रमुख रामचन्द्र शाहीले विश्वस्तरमा प्रतिष्ठित विश्वविद्यालयका रूपमा पहिचान बनाएको काठमाडौं विश्वविद्यालयका कार्यक्रम धनगढीमा सञ्चालन हुनु यस क्षेत्रको शैक्षिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले शैक्षिक गुणस्तर, अनुसन्धान, नवप्रवर्तन तथा व्यवहारिक सिकाइमा आधारित विश्वविद्यालयका कार्यक्रमले प्रदेशका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो।
सूचना प्रविधिको क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेका बेला BIT कार्यक्रमले दक्ष, सिर्जनशील तथा प्रतिस्पर्धी जनशक्ति उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। त्यस्तै BSW कार्यक्रमले नेतृत्व विकास, समुदाय सशक्तीकरण, सामाजिक न्याय तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक दक्ष मानव स्रोत उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
लामो समयदेखि गुणस्तरीय उच्च शिक्षाका लागि काठमाडौं तथा अन्य ठूला शहरहरूमा जान बाध्य रहेका सुदूरपश्चिमका विद्यार्थीहरूका लागि आफ्नै प्रदेशमा काठमाडौं विश्वविद्यालयको शैक्षिक अवसर उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले विद्यार्थी तथा अभिभावकमाथिको आर्थिक भार कम गर्नुका साथै प्रदेशमै शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुग्ने सरोकारवालाहरूको भनाइ छ।
सोफान कलेजले आधुनिक शैक्षिक पूर्वाधार, प्रविधिमैत्री सिकाइ वातावरण, अनुभवी तथा योग्य प्राध्यापक, अनुसन्धानमुखी शिक्षण पद्धति तथा विद्यार्थीकेन्द्रित अभ्यासमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कलेजले स्थानीय आवश्यकता र विश्वव्यापी अवसरबीच पुलको रूपमा कार्य गर्दै दक्ष, जिम्मेवार, सिर्जनशील तथा रोजगारमुखी जनशक्ति उत्पादनमा विशेष जोड दिने जनाएको छ।
उच्च शिक्षाको पहुँच विस्तारसँगै सुदूरपश्चिमका युवाहरूलाई आफ्नै प्रदेशमा विश्वस्तरीय शिक्षा उपलब्ध गराउने दिशामा यो कदम महत्वपूर्ण माइलस्टोनका रूपमा हेरिएको छ।


