धनगढी– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा कार्यान्वयन भइरहेको प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) अन्तर्गत युवा फेडरलिज्म फेलोजका लागि १२ दिने क्षमता विकास तालिम सुरु भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) र काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (KU-NCCS) बीचको साझेदारीमा सञ्चालित Local Government Outreach Programme (LGOP) अन्तर्गत काठमाडौँ विश्वविद्यालय–नेपाल समसामयिक अध्ययन केन्द्र (KU-NCCS) ले प्रदेश कार्यक्रम सहयोग इकाई तथा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रसँगको सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो।
मिति २०८३ जेठ २६ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने तालिममा युवा फेडरलिज्म फेलोजहरूको क्षमता अभिवृद्धि, संघीय शासन प्रणालीको बुझाइ विस्तार तथा स्थानीय शासनसम्बन्धी ज्ञान र सीप विकासमा केन्द्रित विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ। तालिमको उद्घाटन सत्रको अध्यक्षता प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP) का प्रदेश कार्यक्रम व्यवस्थापक नरेन्द्र शाहले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र, डोटीका कार्यकारी निर्देशक गेहेन्द्र वमको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा PLGSP केन्द्रीय कार्यालयका प्रशासकीय अधिकृत, UNDP क्षेत्रीय कार्यालयका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्षम र दक्ष युवा जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले युवा नेतृत्व विकास, सुशासन प्रवर्द्धन तथा स्थानीय तहको सेवा प्रवाह सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। १२ दिने तालिम अवधिभर संघीयता, स्थानीय शासन, सार्वजनिक नीति, नेतृत्व विकास, अनुसन्धान तथा समुदायसँगको अन्तरक्रियालगायत विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।


