धनगढी— सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री तथा राज्यमन्त्री हेरफेर गरिएको छ। पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउने उद्देश्यसहित पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरिएको हो।
पुनर्गठनअनुसार कांग्रेसबाट कञ्चनपुरका बेलबहादुर राना मगर, अछामका मानबहादुर रावल र बाजुराकी जुना दानी सरकारमा सहभागी भएका छन्। उनीहरू तीनै जना कांग्रेस नेता दिवानसिंह बिष्ट निकट मानिन्छन्। यस्तै मुख्यमन्त्री कमलबहादुर शाह पक्षबाट दार्चुलाका विक्रमसिंह धामी र कञ्चनपुरकी मधु भारती सरकारमा समेटिएका छन्।

नवनियुक्त मन्त्रीमध्ये विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री, मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा बेलबहादुर राना मगर सामाजिक विकास मन्त्री नियुक्त भएका छन्।
त्यसैगरी मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गराएका हुन्।
कांग्रेसभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्दै दुवै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ।


