कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार पुनर्गठनको अन्तिम तयारी भइरहेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले भोलि सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहबाहेक अन्य सबै हेरफेरको सम्भावना रहेको छ। कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री फेरिने छन् भने नेकपा एमालेको तर्फबाट पनि तीन मन्त्री र एक राज्यमन्त्री फेरिने भएका छन्।
जेठ ८ गते मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ९ जना मध्ये डम्मरी महराले सोही दिन हस्ताक्षर फिर्ता लिएकी थिइन्। ती बाहेकका अन्य ८ जनाले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ।
सहमति अनुसार आज बिहानैदेखि उनीहरूले मन्त्री छनोट गर्न छलफल सुरु गरेका थिए। आफ्नै दलको नेतासँग असन्तुष्ट भएर हस्ताक्षरको नेतृत्व गरेका दिवानसिंह विष्टले आफू मन्त्री नबन्ने बताइसकेका छन्। ती बाहेकका अन्य ७ जनाबीच मन्त्री बनाउने विषयमा आज सहमति जुट्न सकेन।
‘ दिवानसिंह माननीयज्यू बाहेकका सबैले आफूलाई मन्त्री बनाउनुपर्ने अडान नछोडेपछि घण्टौँ छलफल निष्कर्षविहीन भयो, ’ बैठकमा सहभागी एक सांसदले भने ।
आज दुई मन्त्री र एक राज्यमन्त्री छनोट गर्ने गरी छलफल सुरु भएको थियो। तर, सबैले अडान नछोडेपछि मन्त्री छनोट हुन सकेन। ती सांसदले भने, ‘छलफलकै बीचमा दलको बैठक सुरु भयो। हामी त्यता लाग्यौँ, यता सहमति भएन।’
असन्तुष्ट पक्षले अहिले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ। त्यस्तै अर्थ राज्यमन्त्री पनि पाउने सहमति भएको छ। तर, ती मन्त्रालयहरूमा जाने सांसदहरूको नाममा सहमति नहुँदा असन्तुष्ट पक्षमै असन्तुष्टि सुरु भएको छ।
‘हामीलाई मन्त्री बनाउने भन्दै पहिलो हस्ताक्षर गर्न भनिएको थियो, अहिले फेरि अलमलको कुरा भइरहेको छ, ’ अर्का एक सांसदले भने, ‘पूर्ववत् कुरा कार्यान्वयन हुनुपर्छ।’ विष्टले आफू मन्त्री नबन्ने भए पनि पहाड र तराई मिलाउनुपर्ने बताएका थिए। पहाडी जिल्लाबाट अछामका मानबहादुर रावल र बाजुराका पदम शाहीमध्ये एक मन्त्री हुने सम्भावना बढी रहेको छ। त्यस्तै तराई जिल्लाको प्रतिनिधित्व गर्दै कञ्चनपुरका बेलबहादुर राना र गीता चौधरीलाई मन्त्री बनाउने चर्चा चलेको पनि छ। तर, संसदीय दलका सबै एकमत नहुँदा आज मुख्यमन्त्रीसमक्ष हस्ताक्षर गर्नेहरूको नाम अझै पुग्न सकेको छैन।
यता मुख्यमन्त्रीले आफू निकटका दुई जनालाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। अर्थमन्त्रीमा विक्रम सिंह धामी र डम्मरी महराले दाबी गरेका छन्। मुख्यमन्त्री शाहले हस्ताक्षर पक्षबाट नाम आएलगत्तै सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।
आज कांग्रेस संसदीय दलको बैठकमा पनि यस विषयमा कुरा उठेको थियो। उक्त बैठकमा सुदूरपश्चिममा विवाद सुल्झाउन आएको केन्द्रीय टोलीका नेताहरू पनि सहभागी थिए। सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीले संसदीय दलको बैठकलाई सम्बोधन गरेका थिए। उनीहरूले दुवै पक्षलाई समेटेर मुख्यमन्त्रीले सरकार पुनर्गठन गर्ने र आगामी दिनमा कुनै असहमति वा असमझदारी पैदा नगर्ने सन्देश दिएका थिए। असन्तुष्ट पक्षको नाम दिवानसिंह विष्टले दिने समेत उनले बैठकमा बताएका थिए।
‘एउटा खेमाको नाम देवानजीले दिनुहुन्छ, अर्को खेमाको मुख्यमन्त्रीले नियुक्त गर्नुहुन्छ,’ सहमहामन्त्री राणाले भने, ‘सबैलाई समेटेर सरकार बनाउनुहोस्। तपाईंहरू पनि सरकारका कामहरूलाई साथ दिनुहोस्। सुरुमा मुख्यमन्त्री शाहले आफ्नो धारणा राख्दै दुबै नेताहरुलाई सम्बोधन गर्न समय दिएका थिए । सुरुमा केसीले धाराणा राखेका थिए भने त्यसपनि राणाले सम्बोधन गरेका थिए ।
दुबै पक्षको नाम समेटेर सरकार पुर्नगठन गर्नेभनिए पनि अहिलेसम्म एउटा पक्षले नाम दिन सकेको छैन । अर्काे खेमाको नामबारे मुख्यमन्त्रीले आन्तरिक तयारी गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रमुख सचेतक विक्रमसिंह धामीलाई मुुख्यमन्त्रीले अर्थमन्त्री बनाउने सम्भावना बढी देखिन्छ । तर, हस्ताक्षर पक्षबाट नाम नआउँदा धामी पनि विस्वस्त भइसकेका भने छैनन् ।


