कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाउने तयारी गरेको छ । स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी गरिएको हो ।
एमालेका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकारी ऐर बमलाई मन्त्री बनाउने तयारी गरिएको स्रोतले जनाएको छ । उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा पुगिसकेको स्रोतको दाबी छ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ भोलि साँझसम्म हुन सक्नेछ। हाल एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की रहेका छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ ।
त्यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदलाई पनि फिर्ता बोलाउने तयारी गरिएको छ।


