धनगढी । धनगढीस्थित नवजीवन अस्पताल मा उपचाररत एक युवतीको मृत्यु भएको छ। प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–६ निवासी २२ वर्षीया सानु विकको उपचारका क्रममा गएराति मृत्यु भएको हो।
टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनी नवजीवन अस्पतालमा भर्ना भएकी थिइन्। गत जेठ ९ गते शल्यक्रिया (अपरेसन) पश्चात् डिस्चार्ज भएर घर फर्किएकी विकको स्वास्थ्य पुनः बिग्रिएको थियो। मुखबाट रगत बग्न थालेपछि मंगलबार पुनः उपचारका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको अवस्थामा बुधबार बिहान २:४६ बजे उनको मृत्यु भएको बताइएको छ। मृत्युपछि आफन्तहरूले उपचारमा लापरवाही भएको आशंका गर्दै विरोध जनाएका छन्। हाल मृतकका आफन्त र अस्पताल प्रशासनबीच घटनाबारे छलफल जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


