धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य मानबहादुर रावलले गरेको पाइएको छ । रावलको अध्यक्षतामा बैठकले शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो । उक्त बैठकमा ९ जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको पाइएको छ ।
स्रोतकाअनुसार बैठकमा प्रदेश सभा सदस्य दिवानसिंह विष्ट, पदमबहादुर शाही, गिताकुमारी चौधरी,तुलसी देवकोटा, डम्मरी महरा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीको सहभागीता थियोे । उनीहरूको उपस्थितिमा बसेको बैठकले संसदीय दलको विधान बमोजिम दल नेता फेरबदल गर्न सांसदको संख्या पुगेकाले दल उक्त निर्णय लिइएको उल्लेख छ ।
संसदीय दलको विधान बमोजिम दिगो शान्ति तथा सुव्यवस्था सुदृढ गर्न संसदीय शासन प्रणालीअनुरूप विधानको धारा १८ को उपधारा २ बमोजिम पूर्ण सदस्यको ५० प्रतिशत गणपुरक संख्या बढि पुग्न गएकोले निर्णय लिइएको भनिएको छ । हस्ताक्षरकर्ता सांसदले कुनै हस्तक्षेप र दबाब बिना राजीखुसी दस्तखस्त गरेको निर्णयमा लेखिएको छ ।


