धनगढी: विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो । गत शुक्रबार दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि त्यसलाई समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै एक तोला चाँदीको मूल्य पाँच हजार ३४५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला चाँदी पाँच हजार ४० मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


