धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देउवा पक्षीय नेताहरूले सभापति गगन थापाविरुद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी १५औँ महाधिवेशनमा उनलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्।
कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिए । ‘तपाईंले जसरी ४० वर्ष दुःख गरेका नेताहरूलाई अपमान गरेर मुण्ड मुण्डका मान्छे जम्मा गरेर कांग्रेस कब्जा गर्न खोज्नुभएको छ, त्यो सफल हुँदैन। १५ औँ महाधिवेशनमा हामी नयाँ नेतृत्व लिएर आउँछौँ र तपाईंलाई देखाइदिन्छौँ’, उनले भने।
बोगटीले गगन थापाले डिजिटल प्रविधिका नाममा पुराना नेताहरूको हुर्मत लिएको भन्दै अब चुप लागेर नबस्ने बताए । पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति थापाले सङ्कलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली र टोटलको खेतीको संज्ञा दिए ।
‘पार्टी कार्यालयमा आउन नसकेर होटलमा केन्द्रीय समितिको बैठक बस्ने र १३०० नक्कली हस्ताक्षर देखाएर भ्रम फैलाउने ? यस्ता मान्छेहरू आफैँ बिलाएर जान्छन्,’ उनले भने।
उनले शेरबहादुर देउवा नेपालकै अभिभावक भएको र उनकै कारण कांग्रेस ठुलो पार्टी बनेको दाबी गरे । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको विधान र अनुशासन नमान्नेहरूलाई पार्टीबाटै निकाल्ने चेतावनी दिए । गगन थापाले पार्टी सदस्यता र लेवीका विषयमा भ्रम फैलाइरहेका छन्। हिजो महामन्त्री हुँदा नवीकरण गर भन्ने, आज त्यही कुराको विरोध गर्ने रु यस्तो रंगीन कुराले पार्टी चल्दैन। कांग्रेसको जरा उखेल्नेलाई हामीले फ्यात्त फालिदिन्छौँ,’ उनले भने, नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।

फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले नेपाली कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टी भित्र बृहत एकताका साथ १५ औ माहाधिवेशनमा होमिनुको बिकल्प नभएको बताए।
उनले भने,कांग्रेस केवल चुनाव जित्ने संगठन होइन, यो लोकतन्त्र बचाउन हजारौं मानिसले जेल बसेको, रगत बगाएको र बलिदान दिएको आन्दोलनको विरासत हो। यस्तो पार्टी कमजोर हुनु भनेको लोकतान्त्रिक मूल्य कमजोर हुनु हो। त्यसैले आज हामी कसलाई हराउने भन्ने होइन, कसरी सबैलाई जोड्ने भन्ने विषयमा केन्द्रित हुनुपर्छ।
नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर पार्टीलाई बलियो बनाउन सबै प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताएका छन् । एकपटक नवीकरण भइसकेको सदस्यतालाई पुनः अद्यावधि गर्ने अभियानले कांग्रेसमा संस्थापन र इतर पक्षबीच शक्ति संघर्ष चुलिएको छ । नेता साउदले निष्पक्षता सुनिश्चितताका लागि अद्यावधि रोकेर पुरानै नवीकरणलाई मान्यता दिन पर्ने बताए । नवीकरण भइसकेका सदस्यतालाई फेरि अद्यावधि गरिनुपर्छ भनेर सभापति थापाले पार्टीभित्र एकलौटी गर्न खोजेको उनले बताए ।
संस्थापन पक्षका नेताहरूको मात्रै बाहुल्यता रहेको उक्त भेलाको ब्यानरमा पूर्वसभापति शेरबहादुर देउवाको ठुलो तस्बिर राखिएको भए पनि वर्तमान सभापति गगन थापाको तस्बिर भने हटाइएको थियो । भेलामा सहभागी अधिकांश नेताहरूले गगन थापाले पार्टीभित्र समानान्तर गतिविधि चलाउन खोजेको आरोप लगाउँदै सुदूरपश्चिमका कांग्रेसहरू देउवाको पक्षमा उभिने उद्घोष गरे।



