धनगढी । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो ।
प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई करोड १० लाख बढि मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारतको दिल्लीको राजेन्द्रनगरका संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो ।
माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा छानबिन गर्ने क्रममा प्रहरीले रावतसहितका तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाजुराकै खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई विभिन्न गरिएको प्रहरीले जनाएको छ ।
तीनै जना पक्राउ परेपछि उनीहरुको साथबाट गरगहनासहित दुई करोड ७ लाख बरामद गरिएको थियो । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक(डीआईजी) ओमबहादुर रानाले अप्रेसनका क्रममा उनीहरुको साथबाट चोरी गरिएका नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको बताए ।
यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ ।
भारतीय दुतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष प्रहरीले बरामद गरेको सामान बुझ्न शुक्रबार कैलाली पुुगेका थिए । जिल्ला प्रहरी कार्यालयमार्फत सामान सम्बन्धित व्यक्तिलाई बुुझाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


