काठमाडौं ।एमाले नेता झपट बहादुर रावल २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न भएको अढाइ महिना बित्दा समेत पार्टी पराजयको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका आम नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशंका पैदा गरेको बताउँछन् ।
१. चुनावी पराजयको निर्मम समीक्षा
२. नीति र नेतृत्वमा पार्टी पुनर्गठनको माग
निर्वाचनको परिणामले स्पष्ट रूपमा पार्टीको परम्परागत शैली र वर्तमान साङ्गठनिक ढाँचालाई अस्वीकार गरेको छ। त्यसैले, जेठ ४ को बैठकले पार्टी पुनर्गठनको ठोस मार्गचित्र कोर्नुपर्छ। नीतिगत रूपमा नयाँ पुस्ता र आम जनताको भावना समेट्ने तथा साङ्गठनिक रूपमा आमूल रूपान्तरण गर्ने आँट यो बैठकले देखाउनैपर्छ। देशैभरिका लाखौँ इमानदार कार्यकर्ताको स्पष्ट माग छ– पार्टीलाई पुरानै ढर्रा र गल्तीहरू दोहोर्याएर चलाउन अब किमार्थ सम्भव छैन।
३. नेतृत्वको जवाफदेहिता र नैतिक जिम्मेवारी
कम्युनिस्ट पार्टीमा जबाफदेहिता र आलोचना–आत्मालोचना सबैभन्दा महत्वपूर्ण पक्ष हो। निर्वाचनमा पार्टीले व्यहोरेको ऐतिहासिक धक्काको मुख्य राजनीतिक र नैतिक जिम्मेवारी पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले लिनुपर्छ। नीति निर्माण, उम्मेदवार चयन र निर्वाचन केन्द्रित रणनीतिको मुख्य बागडोर पार्टी अध्यक्षकै हातमा भएकाले पराजयको मुख्य उत्तरदायित्वबाट उहाँ पछाडि हट्न मिल्दैन। कमरेड अध्यक्ष ओलीले आम कार्यकर्ता र समग्र पार्टी पङ्क्तिलाई चित्तबुझ्दो जवाफ दिँदै जिम्मेवारी लिनुपर्छ र आत्मालोचनासहित रूपान्तरणको आँट देखाउनुपर्छ।
४. केन्द्रीय कमिटी बैठकको तत्काल घोषणा
सचिवालय बैठक आफैँमा निर्णय गर्ने सर्वोच्च निकाय होइन, यसले केन्द्रीय कमिटीका लागि एजेन्डा र वातावरण तय गर्ने हो। तसर्थ, जेठ ४ को बैठकले लामो समयदेखि अवरुद्ध रहेको केन्द्रीय कमिटीको बैठक तत्काल डाक्ने निर्णय गर्नुपर्छ। सचिवालयका सीमित नेताहरूमा मात्र बहस केन्द्रित नगरी केन्द्रीय कमिटीमार्फत देशैभरिका नेताहरूको आवाज सुन्ने र तल्लो कमिटीसम्म पार्टी पुनर्गठनको लहर लैजाने वैधानिक र साङ्गठनिक बाटो खोल्नुपर्छ।
एमालेका लाखौँ कार्यकर्ता अहिले अन्योल र निराशामा छन्। जेठ ४ गते बस्ने सचिवालय बैठकले कार्यकर्ताको यो निराशालाई ऊर्जामा बदल्न सक्छ वा आक्रोशमा ? त्यो नेतृत्वको कार्यशैली र इमानदारितामा भर पर्छ। प्राविधिक एजेन्डाको फेहरिस्त देखाएर मूल मुद्दालाई पन्छाउने प्रयास गरियो भने त्यसले पार्टीलाई अझ ठुलो सङ्कटतर्फ धकेल्ने निश्चित छ ।
म केन्द्रीय कमिटीको सदस्य हुनुका नाताले आम कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गर्दै जोडदार माग गर्दछु– अब अल्मलिने समय छैन, समीक्षा र पार्टी पुनर्गठनको एजेन्डामा प्रवेश गरौँ र एमालेलाई नयाँ जीवन दिऔँ ।


