धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका – २ का मोले रानाले यस वर्षको बगर खेतीबाट बिट मार्दै छन् । मंसिर÷पुस महिना देखि बगरमा नाग्रा खियाएका उनी करिब ६ महिनामा एक लाख बराबरको तरकारी फलाएर यो वर्षको बगर खेतीबाट बिट मार्न लागेका हुन ।
६ महिनामा उनले बनहरा नदीको बगरमा करिब ४ कट्टा बालुवामा मल, मानी हालेर लौका फर्सी, काँक्रा, तरबुजा खेती गरेका थिए । जसमा उनको करिब ३० हजार जति लगानी लाग्यो । चैत देखि आफ्ना उत्पादन बिक्री गर्न थालेका उनले एक लाख जति आम्दानी गरिसकेका छन् ।
‘हामीले मंसिर देखि बगरमा खेती गर्न सुरु गर्छौ । जेठ पहिलो साता सम्म सकिन्छ’ उनले भने ‘बगरमा ३० हजार जति लगानी गरेर १ लाख जति आम्दानी पनि भयो ।’ आफ्ना उत्पादनको बिक्री गर्ने ठाउँ भने सडक किनारा रहेको बताए ।
बिक्री गर्ने ठाउँ भने सडक किनारामै रहेको छ । सडक किनारामा टहरा हालेर उनीहरूले बिक्री गर्ने गरेका छन् । राजमार्ग छेउमा उनले जोखिम मोलेर आफ्ना उत्पादन बिक्री गरिरहेका छन् । ‘अब सकियो उत्पादन गरेको तरकारी’ उनले भने ‘बढीमा जेठको ६÷७ गते सम्म मात्र हामी यहाँ बस्छौ ।’ रानाले सडक किनाराबाटै दैनिक ४–५ क्वुन्टेल सम्म बिक्री हुने गरेको बताए । करिब डेढ महिनादेखि सडक किनारामा तरकारी बिक्री गर्दै आएका उनले मूल्यमा भने एकरूपता नहुने गरेको बताए । ‘मूल्यमा निकै उतारचढाव हुने गरेको छ’ उनले भने ‘सुरुमा ८० रुपैयाँ केजी देखि विक्री सुरु गर्न थालिएको तरबुजा अहिले २० रुपैयाँ किलोमा झरिसकेको छ । मूल्य एकनासको हुँदैन ।’
उनले बगरमा उत्पादन गर्दा विषादीको न्यून प्रयोग गर्ने गरेको बताए । ‘हामीले विषादी प्रयोग गर्दैनौ । गोबर मल, रासायनिक मल र केही भिटामिन प्रयोग गर्छौ’ उनले भने ‘धेरै किरा लाग्यो भने मात्रै कहिले काहीँ विषादी हाल्ने गरेका छौ ।’ घरमा जग्गा नभएकाले बगरमा खेती गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने ‘५ कट्ठा जग्गा छ । तीन छोरा छन् । सबैलाई खेती गरेर खान पुग्दैन । त्यही भएर अहिले बगरमा खेती गर्ने गरेका छौ ।’ उनले बगरमा आफू जस्तै १ सय परिवारले खेती गर्ने गरेको बताए ।
अहिले धेरैजसो बनहरा नदी किनारमा बस्ने मुक्त कमैया परिवारले बगरमा खेती गर्दै आएका छन् । जसले गर्दा हिउँदमा सुख्खा रहने बगर हरियाली हुने गरेको मात्रै छैन धेरैले राम्रै आम्दानी पनि गर्दै आएका छन् । उनीहरूले ४÷५ कट्ठा देखि एक बिगाहा सम्म पनि बगरमा खेती गर्ने गरेका छन् । बगरमै टहरा निर्माण गरेर बगर खेती गर्ने उनीहरूले बजारीकरणका लागि पनि खासै समस्या भोग्नु पर्दैन । यद्यपि सडक किनारामा जोखिम मोलेर भने व्यवसाय गर्नुपर्ने बाध्यता रहेको छ ।


